काठमाडौ, मंसिर १६
ज्योति विकास बैंक लिमिटेडले स्क्यान एन्ड वीथ ड्र सेवा संचालनमा ल्याएको छ । सो सेवा अन्तर्गत ग्राहकहरुले आफ्नो मोबाइल फोनमा भएको ज्योति स्मार्ट एप मार्फत बैंकको काउन्टरमा रहेको क्यु आर कोड स्क्यान गरि आफ्नो खाताबाट सजिलै रकम झिक्न सक्नेछन् ।
स्क्यान एन्ड वीथ ड्र मार्फत काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी चेकको प्रयोग बिना नै खाताबाट रकम झिक्न सकिने छ । बैंकले यो सेवा देश भरिका १०५ वटै शाखा कार्यालयबाट एकैपटक शुरुवात गरेको छ । सो सेवा संचालन पश्चात ग्राहकहरुले अब बैंक गएर पैसा झिक्न चेक अथवा एटिएम कार्ड बोकिरहनुपर्ने छैन ।
आधुनिक बैंकिंग प्रविधिलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङलाई थप सुदृढ बनाउनुका साथै ग्राहकहरूलाई सहज र छिटो सेवा प्रदान गर्ने हेतुले यो सेवा प्रयोगमा ल्याईएको हो । बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले तीन लाख भन्दा बढि खाताबाट करिब रु.४२ अर्ब निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब रु. ३४ अर्व ६० करोड लगानी गर्न सफल भएको छ ।