आधारभूमि संवाददाता
काठमाडौं, मंसिर १६
महामारीकै बिचमा पनि कात्तिक मसान्तसम्म १९ अर्ब ६६ करोड ५० लाख बैदेशिक लगानी स्वीकृति भएको छ । गत वर्षको कात्तिक मसान्त १९ अर्ब २४ करोड प्रतिबद्धता आएको थियो । यसरी हेर्दा महामारीका समयमा पनि बैदेशिक लगानी स्वीकृति भने बढेको देखिन्छ ।
बैदेशिक लगानी भित्राउनका लागि सरकारले दुई वर्षमा एक पटक लगानी सम्मेलन गर्ने गर्छ । बैदेशिक लगानी भित्राउनका लागि नै भनेर सरकारले एकै ठाउबाट सरकारी सेवा दिनका लागि एकल बिन्दु सेवा केन्द्र मात्रै होइन बैदेशिक लगानी तथा प्रविधी हस्तान्तरण ऐन समेत संसोधन गरिसकेको छ ।
देशको क्रेडिट रेटिङ नहुँदा लगानी आएन भन्ने गुनासो पछि क्रेडिट रेटिङ गराउनका लागि विदेशी रेटिङ कम्पनी फिचलाई जिम्मा दिइसकेको छ । तर महामारीका कारण फिचले आएर यहाँ काम गर्न सकेको छैन ।
सरकारले बैदेशिक लगानी भित्राउनका लागि ऐन तथा प्रक्रियामा सुधार गरेपनि त्यो फलदायि हुन सकेको छैन । गत वर्ष झन्डै पौने चार खर्बको लगान्ी स्वकिृति गरेवपनि यो वर्षको चार महिनामा ३ महिनामा जम्मा २ अर्ब ९२ करोड मात्रै भित्रिएको छ ।
लगानी स्वीकृतिमा भने यो वर्ष पनि खासै कमि नआएपनि खुद लगानी भित्राउन भने सरकार सफल हुन सकेको छैन । सरकारले विभिन्न प्रयास गरेको देखाएपनि लगानीकर्ता भने अहिलेसम्म आकर्षित हुन सकेका छैनन् ।
लगानी गर्छु भनेर प्रतिबद्धता देखाएपनि अहिलेपनि लगानीकर्ताले नेपालमा लगानी गर्न जोखिम देखिरहेका छन् । जसका कारण नै प्रतिबद्धता गरेको झिनो रकम पनि नेपाल आउन सकेको छैन । गत वर्ष लगानी बोर्ड र उद्योग विभागले गरेको लगानी स्वीकृतिका आधारमा पौने चार खर्बको लगानी स्वीकृत भएको थियो । तर यो वर्षको असोजमसान्त सम्म जम्मा २ अर्ब ९२ करोड मात्रै रकम भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बिदेशी लगानीकर्ताको लगानी स्वीकृति गर्ने तर त्यसलाई कार्यान्वयनमा लान सरकारी निकायले चासो नदिने मात्रै होइन असहयोगका कारण पनि लगानी भित्रन नसकेको देखिन्छ ।
सरकारलाई यो पटक महामारी भनेर पन्छिने मौका छ । तर महामारी अघि पनि त सरकारले बैदेशिक लगानी खास भित्राउन नसकेको प्रष्ट छ । आर्थिक वर्ष २०७५÷०७६ मा १६ अर्ब लगानी भित्रेकोमा गत वर्ष जम्मा १९ अर्ब भित्रिएको थियो ।
महामारीमा पनि नेपालप्रतिको चासोमा कमि नआएपनि सरकारले त्यस्ता लगानीलाई सहजीकरण गर्न भने गर्न सकेको छैन ।
नीतिगत संसोधन गर्दापनि बैदेशिक लगानी भित्रन नसक्नुले के प्रष्ट पार्छ भने बिदेशी लगानीकर्ता अझैपनि आश्वस्त हुन सकेका छैनन् भन्ने हो ।
लगानी स्वीकृति बढाउँदै जाने भन्दा पनि केहि आयोजनामा बिदेशी लगानीलाई सहजीकरण गरेर लगानी भित्राउने हो भने मात्रै अन्य बिदेशी लगानी भित्रन सक्छ । लगानी सम्मेलन र लगानी स्वीकृतिका प्रचारप्रसार त सरकारलाई प्रचारप्रसारको मेलो मात्रै हो जसले लगानी भने आकर्षित गर्न नसक्ने प्रष्ट छ ।