आधारभूमि संवाददाता
काठमाडौं, मंसिर ११
असोज मसान्तसम्मको आयातमा १२ दशलमव ७ प्रतिशतले कम भएको छ । आयातमा आएको कमि तर रेमिट्यान्समा भएको बढोत्तरीका कारण मलुक बाहिरिने रकमको तुलनामा भित्रिने रकम बढेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार मुलुक १ खर्ब १ अर्बले बचतमा छ । सोधनान्तर बचत बढेसँगै कुल बिदेशी बिनिमय सञ्चिती १४ खर्ब ७० अर्ब २६ करोड पुगेको छ । जसले १५ दशमलव ६ महिनाको बस्तु आयात धान्छ ।
महामारी र कामको खोजिमा बिदेश गएका नेपालीहरुले रोजगारी गुमाइरहदा रेमिट्यान्स आप्रबाह भने बढेको छ । गत वर्षको तुलनामा १२ दशलमव ६ प्रतिशतले रेमिट्यान्स बढेको छ । आयातमा आएको कमि र रेमिट्यान्समा भएको बृद्धिका कारण सोधानान्तर स्थिती १ खर्ब १ अर्बले बचतमा रहेको छ । गत वर्षको यहि समयमा मुलुक १४ अर्ब ४३ करोडले मात्रै बचतमा रहेको थियो ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको असोज मसान्तसम्मको देशको वर्तमान आर्थिक स्थिती सम्वन्धी रिपोर्टमा यो वर्षको तीन महिनामा २ खर्ब ५८ अर्ब रेमिट्यान्स भित्रिएको देखिएको छ ।
जुन गत वर्षको सोहि अवधिको तुलनामा १२ दशमलव ६ प्रतिशतले बढि हो । जबकी गत वर्ष स्थिती सामान्य हुँदाखेरी भने रेमिट्यान्स ५ दशमलव १ प्रतिशतले घटेको थियो । तर वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने ९६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.७ प्रतिशतले मात्रै घटेको थियो ।
तर प्रत्यक्ष बैदेशिक लगानीमा भने २६.८ प्रतिशतले कमी कमि आएको देखिएको छ । बैदेशिक लगानीका रुपमा यो वर्ष २ अर्ब ९२ करोड रकम भित्रिएको छ ।जबकी गत वर्षको यहि अवधिमा ३ अर्ब ९९ करोड रकम मुलुक भित्रिएको थियो । महामारीका बिचमा पनि कर्जा भने गत वर्षको तुलनामा बढेको छ ।
निजी क्षेत्रमा प्रवाह हुने कर्जा गत वर्ष २ दशमलव २ प्रतिशतले बढेकोमा यो वर्षको सोहि अवधिमा यस्तो कर्जा २ दशमलव ८ प्रतिशतले बढेको छ । जसले बिस्तारै आर्थिक क्रियाकलापहरु सुचारु हुन थालेको संकेत देखाएको छ ।
असोजमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ५.४५ प्रतिशत छ । जुन गत वर्ष ६.७५ रहेको थियो । यता कर्जाको औसत ब्याजदर गत वर्षको असोजमा ११.९८ प्रतिशत रहेकामा यो वर्षको सोहि अवधिमा ९.८३ प्रतिशत रहेको छ । निक्षेपको तुलनामा कर्जाको ब्याजमा भएको गिरावट ठूलो हुँदा यसले लगानी बिस्तारमा थप सघाउ पुराउने देखिन्छ ।