neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • हिंसात्मक घटना नरोकिएकोमा महासंघको गम्भीर ध्यानाकर्षण , दोषीलाई कार्वाही र पीडितलाई क्षतिपूर्तिको माग

हिंसात्मक घटना नरोकिएकोमा महासंघको गम्भीर ध्यानाकर्षण , दोषीलाई कार्वाही र पीडितलाई क्षतिपूर्तिको माग

Nov 25th, 2020

काठमाडौ, मंसिर १०

भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सक्रिय निर्माण व्यवसायीहरुलाई अज्ञात समुहबाट निरन्तर हतोत्साहित गर्ने गरी भइरहेका हिंसात्मक घटनाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

यसैक्रममा मंगलवार राती करिब सवा १० बजे रोल्पा प्युठान जोड्ने घोडाखोलाको पुल निर्माण आयोजनामा किनारामा पार्किङ गरी राखिएका स्क्याभेटरहरुमा आगजनी गरिएको महासंघले बुधवार निकालेको विज्ञप्तिमा उल्लेख छ । जलजला÷आँसु÷जय माँ निर्माण सेवाका संचालक तथा महासंघका कार्यसमिति सदस्य बालाजु श्रेष्ठको स्क्याभेटरहरुमा अज्ञात समुहबाट आगजनी गरिएकोमा चार वटा जलेर नष्ट भएको र बाँकी एउटमा आशिंक क्षति पुगेको छ । रा.१ क. ३६७ नम्बरको स्क्याभेटरमा आगजनी गरिँदा करोडौको क्षति भएको महासंघले जनाएको छ । ती स्क्याभेटरहरु कल्याणकोट—कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका थिए ।

उक्त सडक खण्डको निर्माण बज्रगुरु कान्छाराम कन्स्ट्रक्शन जेभीले गरिरहेको थियो । निर्माण व्यवसायी र उनीहरुका उपकरणहरुको सुरक्षालाई लिएर महासंघले पटक पटक प्रधानमन्त्री, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु सहित सरोकारवाला सबैको ध्यानाकर्षण गराइरहँदा समेत अज्ञात समुहहरुको हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु ठूलो चिन्ताको विषय भएको महासंघको भनाइ छ । यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण कार्य ठप्प पारी महासंघ सशक्त आन्दोलनमा जान बाध्य हुने महासंघका महासचिव रोशन दाहालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दोषीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा सजाय दिन र सम्बन्धित् निर्माण कम्पनीहरुलाई क्षतिपूर्ति दिन महासंघले जोडदार माग गरेको छ । साथै देशभरका निर्माण व्यवसायी र उनीहरुका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन महासंघले पुनः एक पटक सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi