neapl investment mega bank
  • गृहपृष्ठ
  • ब्यापार घाटामा ब्यापक सुधार , निर्यात १० प्रतिशतले बढ्यो

ब्यापार घाटामा ब्यापक सुधार , निर्यात १० प्रतिशतले बढ्यो

Nov 25th, 2020

आधारभूमि संवाददाता

काठमाडौं,मंसिर १०

महामारीका कारण आयातमा संकुचन आएपछि देशको ब्यापार घाटामा भने सुधार आएको छ । गत वर्षको तुलनामा १२ दशमलव छ नौ प्रतिशतले ब्यापार घाटा कम भएको छ ।

भन्सार विभागका अनुसार आयात गत वर्षको तुलनामा १० दशमलव ६२ प्रतिशतले कमि आएको छ । गत वर्षको कात्तिक मसान्त सम्ममा ४ खर्ब ५० अर्बको आयात भएकोमा यो वर्षको सोहि अवधिमा ४ खर्ब २ अर्बको मात्रै सामान आयात भएको छ ।

निर्यात भने गत वर्षको कात्तिक मसान्तसम्ममा ३६ अर्बको भएकोमा यो वर्षको सोहि अवधिमा भने ४० अर्बको भएको छ । जसका कारण निर्यातमा १० दशमलव आठ एक प्रतिशतले सुधार आएको छ । आयातमा आएको कमि र निर्यातमा भएको बृद्धिका कारण समग्र ब्यापार घाटा नै १२ दशमलव ४९ प्रतिशतले खुम्चीएको छ । तर आयातमा आएको संकुचनले भन्सार राजस्व पनि झन्डै गत वर्षको तुलनामा ७१ करोडले कम उठेको छ ।

महामारीसँगै कैयनले रोजगारी गुमाएका छन् भने कैयन उद्योगधन्दाले चैत यता तलब नै दिन सकेका छैनन् । यसरी आम्दानीमा कमि आएपछि व्यवसायिक क्रियाकलापमा सुस्तता छाएको छ । अत्यावश्यक बस्तु बाहेक अन्य बस्तुको खपतमा कमि आएसँगै यसले ब्यापार घाटामा भने सुधार ल्याएको छ ।

गत वर्षको कात्तिक मसान्त सम्म ८ अर्ब ३९ करोडको पाल्म तेल निर्यात भएको थियो । तर भारतले पाल्म तेलमा निर्यात लगाएसँगै भने यो वर्षको सोहि अवधिमा जम्मा ४ लाख ४३ हजारको मात्रै पाल्म तेल निर्यात भएको छ ।

इन्डोनेसिया, मलेसिया र अर्जेन्टीनाबाट कच्चा पदार्थ आयात गरि प्रशोधन गरेर सिमा क्षेत्रमा खुलेका पाल्म तेलका उद्योगले भारत निर्यात गर्ने गर्थे । भारतले अन्य देशबाट आयात हुने कृषिजन्य बस्तुमा ४० प्रतिशत कर लगाउने तर नेपालबाट गएकोमा कुनै कर नलगाउने भएपछि त्यसको फाइदा उठाउँदै बिदेशबाट पाल्म तेलको कच्चा पदार्थ आयात गरि भारतमा तेल निर्यात गर्ने गरिएको थियो । यो वर्ष फेरी यो रोग भटमासको तेलमा सरेको छ ।

गत वर्षको कात्तिक मसान्तसम्म २ अर्ब ५ करोडको भटमासको तेल निर्यात भएकोमा यो वर्षको सोहि अवधिमा १० अर्ब २६ करोडको भटमासको तेल निर्यात भएको छ ।

पाल्म नेपालमा फल्दैनथ्यो । तर भटमास नेपालमा पनि फल्छ । नेपालमै फल्ने भएपनि यो वर्षको कात्तिक मसान्तसम्ममा ५ अर्बको भटमास आयात भएको छ । आयातित भटामासबाट तेल निर्यात गर्नेभन्दा पनि स्वदेशी उत्पादन बढाए मात्रै यो दिगो हुन सक्छ ।