neapl investment mega bank

‘मोतीको माला’ विमोचित

Nov 10th, 2019

दमौली, २४ कात्तिक (रासस)

गणेशमान पार्क संरक्षण अध्ययन प्रतिष्ठान दमौलीका संस्थापक अध्यक्ष एवं नेपाली काङ्ग्रेसका पुराना नेता मोतीकुमार श्रेष्ठद्वारा लिखित ‘मोतीको माला’ पुस्तक आज विमोचन गरिएको छ ।काङ्ग्रेसका संस्थापक नेता स्व गणेशमान सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको आत्मवृत्तान्त ‘मोतीको माला’ विमोचन गरिएको हो । उक्त पुस्तकको नेपाली काङ्ग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री अमरराज कैनी र काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेले संयुक्तरुपमा विमोचन गर्नुभयो ।

विसं २००७ देखि हालसम्म भोगेको र देखेको सङ्घर्ष, उतारचढाव र योगदानलाई समेटर पुस्तक लेखेको पुस्तकका लेखक ८७ वर्षीय श्रेष्ठले जानकारी दिनुभयो । “लामो जीवनयात्रामा जेजे दुःख कष्ट र सुखका अनुभूतिलाई भोगियो त्यसलाई कलमका माध्यमबाट लिपिबद्ध गर्ने प्रयास गरेको हुँ”, श्रेष्ठले भन्नुभयो, “हिजोका कुराको विषय भोलिका मार्गदर्शक बन्न सक्छन् भन्ने ध्येय राखेको छु ।” श्रेष्ठका अनुसार पुस्तकमा नवीनतम् सामग्रीलाई लिपिबद्ध गर्ने प्रयास गरिएको छ ।

एक सय १४ पृष्ठको पुस्तकमा दमौलीमा सदरमुकाम सार्ने पूर्वाभ्यास, बन्दीपुरवासीको साङ्केतिक विद्रोह, दमौली सदरमुकाममा रासनपानी व्यवस्थाको प्रतिबद्धता, दमौली बजारमा घडेरीको रेखाङ्कन, तनहुँसुर दरबारबाट अवलोकन गर्दा, तनहुँसुरको पुरानो इतिहास, २०१५ सालको संसदीय चुनावपछिको मेरो क्रियाकलाप, महामानव बिपी कोइराला र जनमत सङ्ग्रह, २०४२ सालको सत्याग्रह आन्दोलन, दमौलीमा मनमोहन अधिकारीमाथि पञ्चमहामण्डलेको आक्रोशलगायतका विषयलाई समावेश गरिएको छ ।

 पुस्तकमाथि समीक्षा गर्दै संविधानसभा सदस्य एवं नेपाली काङ्ग्रेसका नेता रामचन्द्र पोखरेलले पुस्तक अध्ययनबाट भावी पुस्ताले प्रेरणादायी विचार पाउने विश्वास व्यक्त गर्नुभयो । श्रेष्ठ दमौलीको लागि खुला पुस्तक भएको चर्चा गर्दै पोखरेलले पुस्तकमार्फत इतिहासलाई लिपिबद्ध गर्ने प्रयास भएको जानकारी दिनुभयो ।

सो अवसरमा पूर्वराज्यमन्त्री कैनी, काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति आले, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, गण्डकी प्रदेशसभा सदस्य डोबाटे विक, सरिता गुरुङ, गणेशमान पार्क संरक्षण अध्ययन प्रतिष्ठान दमौलीका सचिव समुन्द्र गोदार लगायतले श्रेष्ठको योगदानको चर्चा गर्नुभएको थियो । विसं १९८९ असार १ गते जन्मिनुभएका श्रेष्ठ विभिन्न सामाजिक काममा संलग्न हुनुहुन्छ । श्रेष्ठ तनहुँ कालिका शहीद जङ्गल पार्कको अध्यक्षसमेत हुनुहुन्छ ।