आधारभूमि संवाददाता
भक्तपुर ,कार्तिक २६
भक्तपुरको सूर्यविनायक नगरपालिकाले निःशुल्क पीसीआर परीक्षण गर्ने भएको छ ।
नगरमा दशैँअघिदेखि बन्द भएको कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षण फेरि सुरु हुने नगरपालिकाले जनाएको छ।
नगरप्रमुख वासुदेव थापाले भक्तपुर जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेकोले नगरपालिकाले निःशुल्क परीक्षण गर्ने निर्णय गरेको वताए ।
नगरप्रमुख थापाको अध्यक्षतामा बसेको बैठकले नगरपालिकामा कोराना संक्रमणको हालसम्मको अवस्था र रोकथाम तथा नियन्त्रणका विषयमा छलफल गरेको थियो ।
नगरपालिकाका अनुसार नेपाल सरकारको निर्देशिकाभित्र पर्नेबाहेकको पनि निःशुल्क परीक्षण गर्ने निर्णय गरिएको हो ।
नगरपालिकाले कोरोनाका लक्षण देखिएको खण्डमा वडामा गएर सिफारिस ल्याएपछि निःशुल्क परीक्षण हुने नगरपालिकाले जनाएको छ ।
सरकारले शुल्क तोकेपछि संक्रमणका लक्षण देखिएकाहरू पनि परीक्षण नगराई घरमै बस्ने भएकाले संक्रमण अझ बढ्न सक्ने हुँदा नगरपालिकाले निःशुल्क बनाइएको हो ।
नेपाल सरकारले भने पीसीआर परीक्षणका लागि शुल्क लिने निार्णय गरेको छ ।