neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित १० जना पक्राउ

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित १० जना पक्राउ

Nov 7th, 2020

काठमाडौं, कात्र्तिक २२

काठमाडौंको चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट नियन्त्रित लागूऔषध ५० एम्पुल डाइजेपाम, ५० एम्पुल फेनारगन, ५० एम्पुल लुपिजेसिक र २ हजार ४ सय ट्याब्लेट नाइट्राजेपाम सहित महोत्तरी गौशाला नगरपालिका-२ फुलचोक घर भएका १९ वर्षीय भरत बिकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ३०९९ नम्बरको बसलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसका सहचालक भरतले बसको क्याविनको सिटमुनी लुकाई राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । साथै उक्त लागूऔषध महोत्तरी गौशाला नगरपालिका-५ घर भएका २३ वर्षीय वीरेन्द्र कुमार साहले पठाएको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीसँगको समन्वयमा साहलाई समेत बुधबार महोत्तरीबाटै प्रहरीले पक्राउ गरेको छ । उनीहरू उपर थप अनुसन्धान भइरहेको उक्त वृत्तले जनाएको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ४ दुवाकोट वेसीबाट करिब १ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी बस्ने सिरहा घर भएका ३२ वर्षीय प्रमोद राय समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका १ स्थितबाट १ सय १ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका ९ लुभु बस्ने २२ वर्षीया बिनिस्था धामी समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका १५ जमुनाह चेक प्वाईन्टमा जाँच गर्ने क्रममा ५ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय राजेश साहुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बाँकेको नेपालगंज उपमहानगरपालिका १ धम्बोझीस्थित रहिमा मःम सेन्टरबाट ६ ग्राम १ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका २१ वर्षीय अबुबकल मनिहार र नेपालगंज उपमहानगरपालिका-१६ जयसपुर बस्ने २२ वर्षीय रफिक साई रहेका छन् । उक्त मःम सेन्टरमा लागूऔषधको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले जाँच गर्दा उनीहरुलाई उक्त परिमाणको पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

धादिङको गजुरी गाउँपालिका २ डुँडेठाँटी बस्ने २७ वर्षीय गणेश रोक्का भन्ने तोक बहादुर सार्कीलाई करिब १ केजी ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्दामा समेत संलग्न रही फरार रहेका सार्कीको खोजी गर्ने क्रममा उनलाई आफ्नै घरमा लुकिछिपि बसिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले फेला पारी घर तालसी गर्दा लुकाई राखेको उक्त परिमाणको लागूऔषध समेत फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi