neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकाको ट्राफिक व्यवस्थापनमा समन्वयको अभाव

उपत्यकाको ट्राफिक व्यवस्थापनमा समन्वयको अभाव

Nov 3rd, 2020

काठमाडौँ १८ कात्तिक /रासस

मुलुकको राजधानी काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन थप चुनौती पूर्ण बन्दै गएका बेला सम्बद्ध व्यक्तिहरुले एकीकृत योजना कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभएको छ । गृहमन्त्रालय र मातहतका निकायले मात्रै ट्राफिक व्यवस्थापनमा काम गर्न नसक्ने भएकाले त्यससँग जोडिएको यातायात व्यवस्था विभाग, सडक विभाग, स्थानीय तहलगायत विभिन्न क्षेत्रबाट एकीकृत योजना निर्माण गरेर कार्यान्वयन गर्नुपर्नेमा उहाँहरुको जोड छ ।

‘काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनसम्बन्धी एकीकृत कार्ययोजना’ का विषयमा छलफल गर्न गृहमन्त्रालमया आज आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले उपत्यकाको ट्राफिक व्यवस्थापनमा सरोकार राख्ने सबे निकायको उत्तिकै भूमिका रहने औँल्याउनुभयो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल नेतृत्वको कार्यदलले उक्त कार्ययोजना तयार पारेको हो । कार्ययोजनाले सरोकार राख्ने निकाय बीचको उचित समन्वय नहुँदा समस्या यथावत रहेको आँैँल्याएको छ ।

मन्त्री थापाले उक्त कार्ययोजना उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि आधार भएको बताउनुभयो । उहाँले सबै निकायको समन्वयमा अक्षरश कार्यान्यन गर्नुपर्नेमा जोड दिनुभयो । “विकासले पैदा गरेको ट्राफिक समस्याले विकासको गतिलाई समेत अवरोध गरिरहेको छ”, गृहमन्त्री थापाले भन्नुभयो, “मुलुकको समृद्धिका लागि उपत्यकाको ट्राफिक चुस्त पार्नुपर्ने आजको आवश्यकता हो, सबै मिलेर लागौँ ।”

गृह सचिव महेश्वर न्यौपानेले सडक जति नै फराकिलो भए पनि चोकलाई व्यवस्थापन गर्न सकिएन भने ट्राफिक व्यवस्थापनमा चुनौती कायमै रहनेतर्फ सम्बद्ध निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले नीजि सवारीलाई निरुत्साहित गर्दै धेरै सिट क्षमता भएका गाडीको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो । उक्त समारोहमा ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले ट्राफिक व्यवस्थापनसम्बन्धी अल्पकालिन र दीर्घकालिन योजना सार्वजनिक गर्दै सहज, व्यवस्थित र प्रविधिमैत्री ट्राफिक आजको आवश्यकता भएको औँल्याउनुभयो ।

मृलुकको समृद्धिको पहिलो झलक नै ट्राफिक व्यवस्थापन हो । उक्त कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ट्राफिक व्यवस्थापनसम्बन्धि ३७ बुँदे अल्पकालिन कार्ययोजना र गृह मन्त्रालयको पटकपटकको निर्देशन र निर्णयलाई समेत आत्मसाथ गरेर तयार पारिएको जनाइएको छ । योजनामा सडक विस्तारमा जोड दिनुपर्ने, विभिन्न कोरिडोर खुला गर्नुपर्ने, प्रविधिमैत्री ट्राफिक व्यवस्थापनदेखि नयाँ सडक निर्माणसम्मका योजनामा समेटिएको छ । उपत्यकामा दैनिक १२ लाख बढी सवारी सञ्चालनमा छन् । त्यसमध्ये ८० प्रतिशत दुई पाङ्ग्रे सवारी चल्छ ।

यहाँ झण्डै दुई हजार १०० किलोमिटर सडक रहेको छ । दिनदिनै सवारीको चाप बढिरहे पनि सडकको अबस्था सुधार हुन सकेको छैन । मुख्यगरी ट्राफिक व्यवस्थापनमा जनचेतनाको कमी, प्रविधिको कम प्रयोग, सडक पुर्वाधारको अभाव, दक्ष चालकको अभाव र सरोकारवाला निकायको समन्वयको अभाव रहेको कार्ययोजनामा औँल्याइएको छ । छलफलमा भाग लिँदै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पहिलो काम उपत्यकामा कति सवारी आवश्यक छ भनेर नै अध्ययनको खाँचो रहेको औँल्याउनुभयो । त्यसको आधारमा मात्रै ट्राफिक व्यवस्थापन गर्न सकिने उहाँको धारणा थियो ।

सडकमा आएका हरेक समस्यामा ट्राफिक प्रहरी ठोक्किने तर काम गर्ने पाटो भने कतै सडक विभाग कतै यातायात व्यवस्था विभागको त कतै स्थानीय तहको हुने हुँदा आवागमन व्यवस्थापनमा प्रहरीलाई ठूलो चुनौती रहेको उहाँले बताउनुभयो । “अझै पनि उपत्यकको ट्राफिक व्यवस्थापनमा कुन निकायको कार्य क्षेत्र के हो भन्ने अन्योल देखियो”, प्रहरी महानिरक्षिक थापाले भन्नुभयो, “त्यसलाई स्पष्ट पार्दै सम्बद्ध निकायले आआफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ, तब मात्रै सहज पार्न सकिन्छ ।”

छलफलमा भाग लिँदै गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा ईन्द्रजित राईले काठमाडौँ भित्रिने नाकामा दोस्रो सडकको आवश्यकता औँल्याउनुभयो । उहाँले उपत्यका प्रवेश नै नगरी जान सकिने अर्को वाइपास सडक निर्माण पनि जरुरी रहेको बताउनुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मुलुकमा योजनाको कमी नभएको तर कार्यान्वयन फितलो रहेकाले समसय समाधान हुन नसकेको बताउनुभयो । उक्त कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिले भर्चुअल रुपमा र प्रत्यक्ष सहभागी भएर आआफ्ना धारणा राख्नुभएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi