काठमाडौ, कात्र्तिक १८
नेपाल इन्जिनियरिङ कलेज (नेक) का सात जना संस्थापकहरू मध्ये कलेज स्थापनामा सबैभन्दा पछि जोडिएका माननीय सूर्यबहादुर के.सी.को पोखरामा निधन भएको छ । उनी २०५१ सालदेखि २०६० सालसम्म नेपाल इन्जिनियरिङ कलेजको संचालक समितिका सदस्य रहेका थिए ।
तत्कालिन माछापुछ्रे वैंकका अध्यक्ष समेत रहेका माननीय के.सी.ले सो बैकबाट नेपाल इन्जिनियरिङ कलेजलाई ऋण दिलाउने क्रममा कलेज संचालक समितिबाट २०६० वैशाख महिनामा राजिनामा दिई कलेज संचालक समितिबाट बाहिरिएका थिए । मृदुभाषी र सरल स्वभावका माननीय के.सी.लाई कलेजका तत्कालिन अध्यक्ष लम्वोदरकुमार न्यौपानेले सामाजिक संस्थाकोरुपमा संचालित नेपाल इन्जिनियरिङ कलेजलाई निजी बनाउने षडयन्त्रमा अनेक लोभ देखाई नराम्ररी फसाएका थिए । लगभग दस वर्ष अगाडि के.सी.लाई अचानक ठूलो रोगले सताएको र त्यसवेला नेपालमा उपचार हुन नसक्ने देखेर उनी थाइल्याण्डको एउटा अस्पतालमा उपचार गराई फर्किएका थिए । तर रोग पूर्णरुपमा निको नभएकोले उनी बेलाबेलामा विरामी भईरहन्थे । यही कमजोरीको भरपुर फाइदा उठाई लम्वोदरकुमार न्यौपानेले विभिन्न जाली कागजहरूमा के.सी.को हस्ताक्षर लिन सफल भएपछि अनावस्यकरुपमा के.सी. कलेज स्वामित्वको विवादमा फसेका थिए ।
यही विवादको छानविनको क्रममा सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले कलेज संस्थापकहरूको सम्पत्ती छानविन गर्दा उनहाँको नाममा समेत स्रोत नखुलेको ३० करोड रुपैया भेट्टाएको थियो ।
पोखरा‚ कास्की निवासी कीर्तिबहादुर के.सी.का सुपुत्र माननीय स्वर्गीय सूर्यबहादुर के.सी.ले विभिन्न परियोजनाहरू तथा उद्योगहरूमा लगानी गरेका थिए । धेरै वर्ष पंचायतकालीन राजनीति गरेका मुलुकमा बहुदलीय व्यवस्थापछि राप्रपा सदस्य रहेका र बेलाबेलामा समाज सेवामा लागेका के.सी.पछिल्लो समयमा नेपाली कांग्रेसको समानुपातिकतर्फबाट प्रतिनिधी सभाको सदस्य रहेका थिए । उनको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओली लगायतले श्रद्धाञ्जली व्यक्त गरेको छ ।