neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

फूलपाती बढाइँ प्रतीकात्मक हुने

Oct 22nd, 2020

काठमाडौँ ६ कात्तिक/रासस

नेपाली सेनाले शुक्रबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारी उक्त समारोहमा प्रमुख अतिथिका रुपमा सरिक हुनुहुनेछ ।

संवैधानिक व्यवस्थानुसार उहाँ नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिनेछ । इतिहाकार एवं प्राज्ञ दिनेशराज पन्तका अनुसार दुर्गापूजा एवं विजयोत्सवसँग जोडिएको फूलपाती बढाइँको लामो इतिहास रहे पनि टुँडिखेलको हालको फूलपाती बढाइँ पृथ्वीनारायण शाहको समयदेखि हुँदै आएको छ ।

अघिल्ला वर्ष सेनाले भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ हर्षोल्लासका साथ मनाउँदै आएको थियो । पूर्वउपरथी जगदीशचन्द्र पोखरेल भन्नुहुन्छ, ‘मुलुकको पहिचान, संस्कृति र परम्परालाई जीवन्त तुल्याउने सन्दर्भसँग गाँसिएको फूलपाती बढाइँले गर्विलो इतिहास बोकेको छ ।’
कोभिड–१९ को संक्रमणबाट उत्पन्न परिस्थितिका कारण संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र यस वर्षको फूलपाती बढाइँ आयोजना गरिने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताउनुभयो । उहाँका अनुसार यस वर्षको बढाइँ थोरै कार्यक्रम सामेल गरिएकाले छोटो अर्थात् करीब आधा घण्टाको हुनेछ ।

सो अवसरमा सेनाका थोरै सकलदर्जाको सहभागितामा लहरे, एकठ्ठाका अतिरिक्त तोप बढाइँ र ब्याण्ड प्रदर्शन गरिनेछ । कोभिड–१९ जोखिमका कारण पाहुनाको संख्या कटौती गरी १०० जनामा सीमित गरिने छ । सबै पाहुनालाई उपस्थित हुने स्थानमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ । विगतमा फूलपाती बढाइँ हर्षोल्लाससँग मनाउने र त्यसपछि सुरक्षाका लागि अत्यावश्यक जनशक्तिलाई ब्यारेकमा राखेर अरुलाई दशैँ मनाउन बिदा छाड्ने सेनाको चलन थियोे ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi