आधारभूमि संवाददाता
काठमाडौँ, १ कात्तिक
शनिबार थप ३१६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १५ हजार ४३८ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १५ हजार ४३८ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ४ हजार ७१५ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ छ। जसमा संस्थागत आइसोलेसनमा १३ हजार २९९ जना रहेका छन् भने होम आइसोलेसनमा २५ हजार ४३८ जनाको उपचार भइरहेको छ।
थप १८०० जना डिस्चार्ज
मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर ६९.४ प्रतिशत छ। नेपालमा पछिल्लो २४ घण्टामा १८०० जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट १८०० जना डिस्चार्ज भएको बताए ।
योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ८९ हजार ८४० पुगेको छ ।