आधारभूमि संवाददाता
काठमाडौं, असोज २७
पोर्चुगलका कप्तान तथा युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ । पोर्चुगल फुटबल महासंघले मंगलबार विज्ञप्ति जारी गर्दै रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको घोषणा गरेको छ।
विज्ञप्तिको अनुसार उनमा कोरोनाको कुनै लक्षण नदेखिएको र स्वास्थ अवस्था ठिक रहेको छ।
रोनाल्डोमा कोरोना पुष्टि भएसँगै अब नेशन्स लिगका बाँकी खेल गुमाउने भएका छन् । ३५ बर्षिय रोनाल्डोले गत आइतबार नेशन्स लिगमा पोर्चुुगलबाट फ्रान्ससँग खेलेका थिए । त्यस्तै, गत हप्ता स्पेनविरुद्धको मैत्रिपूर्ण खेलमा पनि खेलेका थिए ।
उनलाई अहिले टिमभन्दा बाहिर राखिएको छ । पोर्चुगलले नेसन्स लिग फुटबलमा बुधबार स्विडेनसंग प्रतिस्पर्धा गर्दैछ ।पोर्चुगल फुटबल महासंघको अनुसार रोनाल्डो बाहेक पोर्चुगलको अन्य खेलाडीलाई भने कोरोना देखिएको छैन।
कोरोना संक्रमण पुष्टि भएको केही घण्टाअघि मात्रै उनले आफ्नो टिमका अन्य खेलाडीहरुसँग खाना खाने लामो टेबलमा बसेर सेल्फी खिचेर ट्विट गरेका थिए ।