neapl investment mega bank
  • गृहपृष्ठ
  • उपत्यकामा दुई हजार १२९ सहित २४ घण्टामा ३५५६ सङ्क्रमित थपिए

उपत्यकामा दुई हजार १२९ सहित २४ घण्टामा ३५५६ सङ्क्रमित थपिए

Oct 13th, 2020

आधारभूमि संवाददाता

काठमाडौँ, २७ असोज

मंगलबार उपत्यकामा दुई हजार १२९ सहित  थप ३ हजार ५५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १५ हजार ५७७  जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार ३५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १५ हजार ५७७ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ४ हजार ७९५  रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५  छ। जसमा संस्थागत आइसोलेसनमा १५ हजार ४८ जना रहेका छन् भने होम आइसोलेसनमा २० हजार आठ सय ६७ जनाको उपचार भइरहेको छ। हालसम्म १२ लाख ७ हजार ९१ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप १५०३  जना डिस्चार्ज

मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर लगभग ६८.३  प्रतिशत छ। नेपालमा पछिल्लो २४ घण्टामा १५०३  जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट १५०३  जना डिस्चार्ज भएको बताए ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या ७८ हजार ७८०  पुगेको छ ।यस्तै कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको कुल संख्या ६६३ पुगेको गौतमले बताए ।