– हुमाकान्त पोखरेल
तम्घास, २१ कात्तिक (रासस)
‘दुःखीलाई आएन काल : बाचुञ्जेली सधैँको यही चाल’ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घाका चुराबहादुर गन्दर्भले सारङ्गी रेट्दै यस्तै गीत गाउन थालेको ६२ वर्ष भयो । सात वर्षको उमेरबाट गीत गाउन सिक्नुभएको उहाँ अहिले ६९ वर्षको हुनुभयो ।
शरीरमा पहिलेझैँ काम गर्ने जागर छैन । तर, आफ्नो गायन पेशाप्रति भने उहाँको रुचि घटेको छैन् । आफ्ना बाउबाजेले गाउँगाउँमा गई गीत गाएरै जीविकोपार्जन गरेको परम्परालाई उहाँ कायम राख्न चाहानुहुन्छ । तर, उहाँलाई उमेरले साथ दिएको छैन भने छोराहरुले त्यसप्रति ध्यान दिनसकेका छैनन् ।
पहिले–पहिले आजकाल झै सडक थिएनन् । खाद्यान्न तथा दैनिक खर्च चलाउने सामग्री गाउँबाटै जुटाउनुपथ्र्यो । जसले गर्दा गन्दर्भ जातिका मानिस गाउँगाउँमा गीत गाउन जाने गर्थे । गीत गाएपछि गाउँलेले दिएको नून, चामल, दाल, तरकारीले आफ्नो जीविकोपार्जन चलाउथे ।
चुराबहादुर पनि गाउनकै लागि जिल्लाका पूर्तिघाट, शान्तिपुर, रेमी, रिमुवालगायतका थुप्रै ठाउँ पुग्नुभयो । ६२ वर्षसम्म उहाँले देशमा शासन–व्यवस्था परिवर्तन भएको देख्नुभयो । थुप्रैले निर्वाचनमा भोट मागेको र महत्वपूर्ण आशा देखाएको उहाँसँग अझै सम्झना छ । बिडम्बना, उहाँले अझै पनि शासन–व्यवस्था परिवर्तन भएको महशुस गर्न पाउनुभएको छैन ।
उहाँको गायन पेशा फष्टाउनुको सट्टा झन खुम्चदै गएको छ । आफूहरुको गायन पेशालाई छोरानातीले ध्यान नदिएको र राज्यले पनि संरक्षणमा चासो नदिएका कारण लोप हुँदै गइरहेको चुराबहादुरको गुनासो छ । “गाउँमा अझै पनि गीत सुन्ने चाहना गर्छन्, तर उमेरले साथ दिएन”, उहाँले भन्नुभयो, “राज्यले हेरेन, छोराले सिकेनन् ।”
उहाँको छिमेकी पेमबहादुर गन्दर्भ उमेरले ५० वर्ष पुग्नुभयो । नियमित गन्दर्भ जातिको गीत गाएरै जीविकोपार्जन गर्न थालेको पनि २६ वर्ष भयो । जम्मा १२ छोराछोरीमध्ये अहिले ११ जीवित छन् । उहाँ गीत गाउनकै लागि जिल्लाका विभिन्न स्थानसँगै पर्वत, बागलुङ, अर्घाखाँचीलगायतका स्थान पुग्नुभयो । त्यसैबाट परिवारको गुजारा गर्नुभएको उहाँको अहिले भने त्यत्ति गाउने जागर छैन । कारण हो, पेशा सम्मानजनक नहुनु । “गाउँमा गीत गाउन जाँदा पहिलेजस्तो सम्मान हुँदैन, थोरैले घरखर्च चल्दैन”, प्रेमबहादुरले भन्नुभयो, “बाध्य भएर गायन पेशाप्रति कम समय दिनुपरको छ ।” पहिले–पहिले गीत गाइसकेपछि अन्न, नूनलगायतका सामग्री दिए पनि आजभोलि पैसा मात्र दिन थालेको उहाँले बताउनुभयो । प्रेमबहादुरले गीत गाउने मात्र होइन, सारङ्गी बनाउन पनि जान्नुभएको छ ।
आफै सारङ्गी बनाउने र बजाउने हुँदा केही रुपमा सहज छ । तर समाजले नै नकारात्मक रुपमा हेर्दा आफूलाई दुःख लाग्ने गरेको उहाँ बताउनुहुन्छ । “कुनै–कुनैले राम्रो व्यवहार गरेपनि धेरैले खासै राम्रो मान्दैनन्”,उहाँले भन्नुभयो, “गाउन जाँदा बचन सुन्नुपर्छ ।”
नयाँ पुस्ताले सिकेनन्
चुराबहादुरका चार छोरा छन् । तीमध्ये जेठो छोराले घर–गाउँमै मजदूरी गर्नुहुन्छ । माइलो, साइलो र कान्छो रोजगारीको लागि भारतमा हुनुहुन्छ । प्रेमबहादुरका पनि तीन छोरा छन् । तीमध्ये एउटा सानै छ । दुई मध्ये जेठाले गाउँमा ठेक्कापट्टाको काम गर्छन् भने अर्को रोजगारीलाई विदेश जाने तयारीमा छन् । बम्घामा गन्धर्व जातिका ११ घर छन् । तीमध्ये तीनजना वृद्धले मात्र सारङ्गी रेट्दै गीत गाउनुहुन्छ । चुराबहादुर, प्रेमबहादुर र बलबहादुर । गीत गाउने अन्यको निधन भयो । पुराना हराउँदै गए । नयाँ विदेश धाउन थालेपछि यो पेशा लोप हुँदै गएको छ ।
“अहिलेसम्म जसोतसो पेशा थामिएको छ, तर अब धेरै नरहने भयो”, चुराबहादुरले भन्नुभयो, “छोराहरुले सिक्नै खोज्दैनन् ।” आफूले छोराहरुलाई सिक्न धेरै आग्रह गरेपनि उनीहरुले नमानेको उहाँको गुनासो छ । प्रेमबहादुरले पनि नयाँ पुस्ताले अनुशरण गर्न नसक्दा आफूहरुको पेशा सङ्कटमा परेको बताउनुभयो ।
आफू रहुञ्जेल सारङ्गी बजाए पनि आफुपछि यो पेशा नै लोप हुनेमा चिन्ता व्यक्त गर्नुभयो । “सारङ्गी रेटेरै मैले परिवार चलाए, तर अहिले कसैले सिक्न खोजेनन्”, उहाँले भन्नुभयो,“रेडियो, टेलिभिनसँगै गायन पेशा पनि लोप हुँदै गएको छ ।”
प्रमेबहादुरका माइला छोरा शरण गन्धर्व गायन पेशाबाट जीविकोपार्जन नचल्ने भएकोले आफूहरुले बढी चासो नदिएको प्रतिक्रिया दिनुभयो । गाउँगाउँमा आधुनिक मिडिया र प्रविधिको विकास भएसँगै मानिसले गायन पेशालाई त्यत्ति महत्व दिन छाडेकोले आफूहरुले पनि गाउन नसकेको उहाँले बताउनुभयो । रोजगारीको लागि भारतमा रहेका शरण केही समयको लागि घर आएको बताउनुभयो । “यही पेशाले हामी हुर्कियौँ, जोगाउन मन त लाग्छ”, उहाँले भन्नुभयो, “तर आम्दानी हुँदैन ।” यदी राज्यले व्यवसायीकरण गर्न सहयोग गरेको खण्डमा आफूहरु त्यसमा लाग्ने उहाँले बताउनुभयो ।