neapl investment mega bank
  • गृहपृष्ठ
  • प्रदर्शनका क्रममा किर्गिस्तानमा नौ सय घाइते : स्वास्थ्य मन्त्रालय

प्रदर्शनका क्रममा किर्गिस्तानमा नौ सय घाइते : स्वास्थ्य मन्त्रालय

Oct 7th, 2020

विश्केक, २१ असोज /रासस/एएनआई

मध्य एसियाली मुलुक किर्गिस्तानमा भइरहेको प्रदर्शनका क्रममा घाइते भएकाहरुको संख्या ९११ पुगेको छ ।

देशको स्वास्थ्य मन्त्रालयले यसअघि ७०० जना घाइते भएको जनाएकामा बुधबार ९११ जना घाइते भएको जानकारी दिएको हो ।

मन्त्रालयले कुल घाइते मध्ये झण्डै दुई सय जना प्रहरी पनि रहेको जनाएको छ । प्रदर्शनका क्रममा भएको झडपमा परी एक जनाको मृत्यु पनि भएको छ ।

संसदीय निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै किर्गिस्तानमा केही दिनदेखि प्रदर्शन भइरहेको छ । कुल घाइतेमध्ये १६९ जना पछिल्लो २४ घण्टामा घाइते भएको पनि अधिकारीहरुले जनाएका छन् ।

घाइते भएका मध्ये ७०५ जनालाई सामान्य उपचार पछि घर पठाइएको छ भने अरुको उपचार भइरहेको छ । त्यसैगरी घाइते भएका मध्ये २०५ जनाको अवस्था गम्भीर रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

अस्पतालमा उपचार गराइरहेका मध्ये पाँच जनालाई अति सघन कक्षमा राखेर उपचार गरिएको मन्त्रालयले जनाएको छ ।