neapl investment mega bank
  • गृहपृष्ठ
  • बजारमा तरलता बढेपछि सस्तो ब्याजदरमा ऋण उठाउन थाल्यो सरकारले, २० अर्ब ऋण असोजमै उठायो

बजारमा तरलता बढेपछि सस्तो ब्याजदरमा ऋण उठाउन थाल्यो सरकारले, २० अर्ब ऋण असोजमै उठायो

Oct 5th, 2020

आधारभूमि संवाददाता

काठमाडौं,असोज १९

बजारमा अधिक तरलताका कारण ब्याजदर तल आएपछि सरकारले पनि यसको फाइदा उठाउन खोजेको छ । गत वर्ष फागुनबाट मात्रै आन्तरिक ऋण उठाएको सरकारले यो वर्ष भने असोजबाटै ऋण उठाउन सुरु गरेको छ ।

गत वर्षको फागुनमा सरकारले बजारबाट ७ प्रतिशतको हाराहारीमा ब्याज तिरेर आन्तरिक ऋण उठाएकोमा या वर्षको असोजमा भने ४ प्रतिशतमा नै ऋण उठाइरहेको छ । यसले सरकारको ब्याज खर्च बापत खर्च हुने रकममा कमि आउने देखिन्छ । साथै बैंकहरुको घट्दै गएको ब्याजदरमा पनि केहि नियन्त्रण आउने देखिन्छ ।

सरकारले यो वर्ष १४ खर्ब ७४ अर्बको बजेट घोषणा गरेको छ । जसका लागि ८ खर्ब ८९ अर्ब राजस्वबाट जुटाउने सरकारको लक्ष्य छ । यस बाहेकको करिब २ खर्ब २५ अर्ब आन्तरिक ऋण र २ खर्ब ९९ अर्ब भने बाह्य ऋणबाट जुटाउने योजना छ ।

साथै ६० अर्ब ५२ करोड अनुदान प्राप्त हुने सरकारको अपेक्षा छ । यो आर्थिक वर्षको अढाई महिनासम्ममा सरकारले ६ खर्ब ३५ अर्ब अनुदान प्राप्त गरेको छ । त्यस्तै बाह्य ऋण भने ७७ अर्ब ७१ करोड प्राप्त भएको अर्थमन्त्रालयले जनाएको छ । पहिलो चौमासिकमा ५७ अर्ब ऋण उठाउने सरकारले लक्ष्य छ । जसमध्ये २० अर्ब रकम ९ वर्षे बिकास ऋणपत्र मार्फत उठाइसकेको छ ।

सरकारले सडक तथा ब्यापार सुधार आयोजनाका लागि बिश्व बैंकबाट ५४ अर्ब र बिजुलीको ट्रान्समिसन् लाइन बिस्तारका लागि एसियाली बिकास बैंकबाट २३ अर्ब ७१ करोड ऋण प्राप्त गरेको छ । गत असार सम्ममा सरकारको कुल ऋण १४ खर्ब १९ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । ८ खर्ब ५ अर्ब ८२ करोड बैदेशिक र ६ खर्ब १३ अर्ब ७३ करोड आन्तरिक ऋण छ ।

गत वर्ष सरकारले झन्डै १ खर्ब ९४ अर्ब आन्तरिक ऋण उठाएको थियो । त्यसअघिका वर्षमा लक्ष्यको ५० देखि ६० प्रतिशत मात्रै उठाउने गरेकामा गत वर्ष झन्डै सतप्रतिशत नै आन्तरिक ऋण उठाइयो ।

राजस्व लक्ष्य अनुरुप नउठेपछि सरकारले आन्तरिक ऋण ह्वात्तै बढाएको थियो । कुल गार्हस्थ उत्पादनको ५ प्रतिशत सम्म आन्तरिक ऋण हुनु स्वभाविक नै मानिन्छ । जसका कारण ऋण बढ्यो भनेर आत्तिहाल्नुपनृे स्थिती त छैन । तर यो रकम पुँजी निर्माणका खर्च भयो कि भएन भन्ने चाहि प्रमुख चासो हो ।

राष्ट्र बैंकले यो वर्ष बिकास ऋणपत्र मार्फत १ सय ५० अर्ब , ट्रेजरी बिलमार्फत ७० अर्ब, नागरिक बचतपत्र मार्फत ४ अर्ब र बैदेशिक रोजगार बचतपत्र मार्फत १ अर्ब उठाउने लक्ष्य लिएको छ ।

बजारमा अधिक तरलता रहेकाले आन्तरिक ऋण उठाउन सरकारलाई यो वर्ष पनि खासै कठिन हुने त देखिदैन । तर उठाएको रकम समयमै बिकास निर्माणमा लगाउन सक्नुपर्नेछ ।

आन्तरिक ऋण बढ्दै गएको छ । जुन भोलिका दिनमा उत्पादनमुलक हुन सकेन भने यसले राष्ट्रलाई ऋणको भार मात्रै बोकाउनेछ । त्यसैले उठाइएको ऋण पुँजी निर्माणमा लगाउनुपर्ने देखिन्छ ।