neapl investment mega bank
  • गृहपृष्ठ
  • सेती खोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्नको लागि सहवित्तीयकरण सम्झौता

सेती खोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्नको लागि सहवित्तीयकरण सम्झौता

Oct 4th, 2020

काठमाडौ, असोज १८

सेती खोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्नको लागि सहवित्तीयकरण सम्झौता भएको छ । विद्यमान कोभिड–१९ बाट सृजितविषम परिस्थितिका बाबजुद कुमारी बैंक लिमिटेडको अगुवाई तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सह–अगुवाईमा सेतीखोला हाइड्रोपावर प्रा.लि.ले कास्की जिल्लाको पोखरा महानगरपालीकामा निर्माण गर्न लागेको २२ मे.वा.विद्युत उत्पादन क्षमता रहेको सेतीखोला हाइड्रोपावर परियोजनामा कर्जा लगानी गर्नको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न भएको हो ।

आज आईतबार भएको उक्त सम्झौता अनुसार कुमारी बैंकबाट दुुई अर्ब र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट एक अर्ब २५ करोड गरी जम्मा तीन अर्ब २५ करोड रुपैंया बराबरको कर्जा सिमा स्वीकृत भएको छ । कुमारी बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौता हस्ताक्षर कार्यक्रमा कुमारी बैंककातर्फबाट नायव महाप्रबन्धक रामचन्द्र खनाल, नेपाल इन्फ्रास्ट्रक्चर बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र परियोजनाकोतर्फबाट अनुप आचार्य लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आचार्यले विद्यमान प्रतिकुल परिस्थितिका बाबजुद परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको र परियोजना निर्माण कार्य दु्रतगतीमा संचालन गरी परियोजनाको अनिवार्य व्यवसायीक संचालन मिति भित्रै परियोजना सम्पन्न गरी संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । सोही कार्यक्रममा कुमारी बैंकका नायव महाप्रबन्धक खनालले कुमारी बैंकले हाल सम्म ४९ वटा वटा विभिन्न परियोजनामा जम्मा २२ अर्ब ८५ करोड बराबरको कर्जा सिमा स्वीकृत गरिसकेको र नेपाल इन्फ्रास्ट्रक्चर बैंकका नायव कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले हालसम्म सात वटा विभिन्न परियोजनामा जम्मा आठ अर्ब ३५ करोड बराबरको कर्जा सिमा स्वीकृत गरिसकेको जानकारी समेत गराए । उक्त परियोजनामा स्थानीयबासीन्दाहरुको समेत उलेख्य लगानी रहेको छ ।