ओट्टावा,१५ असोज /रासस/एएनआई
विदेशी यात्रुहरुलाई स्वदेश प्रवेश निषेध गर्ने निर्णयलाई क्यानडाले फेरी एक महिना लम्व्याएको छ । कोरोनाभाइरसको महामारीका कारण विदेशी नागरिकलाई स्वदेश भित्रिन प्रतिवन्ध लगाउदै आएको क्यानडाले अक्टोबर महिना भरी पनि प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।
देशका सार्वजनिक सुरक्षा मन्त्री बिल बलैरद्धारा जारी वक्तव्यमा विदेशहरुलाई यही अक्टोबर ३१ सम्म आउन नदिने निर्णय भएको उल्लेख गरिएको छ । यस्तो प्रतिवन्ध अमेरिकी देश बाहेकका देशबाट आउनेहरुलाई मात्रै लगाइएको पनि उहाँले स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार यस्तो प्रतिवन्ध अस्थायी हो । कोरोनाभाइरसको सङ्क्रमणको खतरा कम भएपछि खुल्ला गरिने उहाँको भनाई छ ।
मन्त्री बलैरले अस्थायी कामका लागि आउन लागेका र कुटनीतिक अधिकारीहरुलाई पनि संघीय सरकारले आउनका लागि अनुमति दिन भने सक्ने स्पष्ट पार्नुभयो । क्यानाडामा विदेशबाट आउनेहरुका लागि अहिले पनि क्वारेन्टाइन सम्वन्धी कडा व्यवस्था कायमै छ । यस्तो व्यवस्था गत मार्च ५ तारिखदेखि लागु भएको हो ।
क्वारेन्टाइन सम्वन्धी कानुनी व्यवस्था उलंघन गर्नेलाई दण्ड र जरिवानाको पनि व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । उनीहरुलाई छ महिनासम्म कारावास सजाय हुन सक्ने व्यवस्था गरिएको छ । कोरोनाभाइरसको महामारीबाट प्रभावित देशहरुको सूचीमा क्यानडा २६ औँ क्रममा रहेको छ । क्यानडामा अहिलेसम्म एक लाख ५८ हजार ७५८ जना सङ्क्रमित भएका छन् । ती मध्ये अहिलेसम्म नौ हजार २९७ जनाको मृत्यु भएको छ ।