neapl investment mega bank
  • गृहपृष्ठ
  • अकूत सम्पत्ति कमाएको अभियोगमा सिडिइ शर्माविरुद्ध मुद्दा

अकूत सम्पत्ति कमाएको अभियोगमा सिडिइ शर्माविरुद्ध मुद्दा

Oct 1st, 2020

काठमाडौँ, १५ असोज /रासस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका सिडिइ सुरेशकुमार शर्माविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभिन्न आयोजना तथा कार्यालयमा कार्यरत रहँदा पदीय दुरुपयोग गरेर रु तीन करोड छ लाख ५४ हजार ९३२ बराबर स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पाइएको आयोगको अनुसन्धानबाट खुलेको छ ।

आयोगका अनुसार २०५२ माघ २५ गते राप तृतीय श्रेणी इञ्जिनीयर पदमा अस्थायी नियुक्ति लिई सार्वजनिक सेवामा प्रवेश गर्नुभएका शर्माले २०५३ साउन ४ गतेदेखि स्थायी भएको पाइएको छ । यस्तै आव २०७६/७७ सम्मको परीक्षण अवधिमा सिर्जित सम्पत्ति एवम् खर्च भएको विवरणको तुलना गर्दा आय अस्वाभाविक देखिएको आयोगको आरोप छ । शर्माको बैध आय रु दुई करोड ३५ लाख ३१ हजार ६७४ रहेको छ । खर्च तथा लगानी भने रु पाँच करोड ४१ लाख ८६ हजार ६०६ रहेको पाइएको छ ।

वैध आयभन्दा बढी खर्च गरी खरिद गरेका चलअचल सम्पत्ति एवम् विद्यमान सम्पत्ति तथा खर्च लगानीको स्रोत नखुलेको पाइएको आयोगले जनाएको छ । अवैध रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती बबिता फुँयाल शर्माको नाममा समेत राखेको पाइएको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आरोपी शर्माको अवैध सम्पत्ति जफथ गरी हदैसम्मको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

अवैध तरिकाले कमाएको सम्पत्ति आफू र श्रीमतीको नाममा जग्गा खरिद गरेको, विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गरेको तथा विभिन्न कम्पनीको संस्थापक एवम् साधारण शेयर समेत खरिद गरेको पाइएको छ ।

घुस लिएको अभियोमा कार्यालय सहयोगी पक्राउ

यस्तै आयोगले सेवाग्राहीबाट रु २४ हजार घुस लिएको अभियोमा जनकपुरधाम उपमहानगरपालिका–१३ का वडा कार्यालय सहयोगी दिलीपकुमार पञ्जियारलाई आज कार्यालयबाटै पक्राउ गरेको छ ।

नेपाली नागरिकता प्रमाणपत्रको सिफारिश गराइदिएबापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा बर्दिबासबाट गएको आयोगको टोलीले पञ्जियारलाई पक्राउ गरेको हो । आरोपीमाथि थप अनुसन्धान भइरहेको छ ।