काठमाडौं,२० कात्तिक
सेयर ब्रोकर कम्पनीहरुले उपलब्ध गराउने मार्जिन लेन्डिङ सुविधा अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । बैंकको भन्दा महंगो ब्याजदर र ओरालो लागेको बजारका कारण मार्जिन लेन्डिङ कार्यान्वयनमा आउन नसकेको हो ।
गत असोजमा नेपाल स्टक एक्सचेन्जले ब्रोकरहरुलाई मार्जिन लेन्डिङको सुविधा दिन अनुमति दिएको हो । अहिलेसम्म ३१ वटा कम्पनीले यसको अनुमति लिएका छन् । तर २२ वटा बाहेक अन्यले यो सेवा सुचारु गर्न सकेका छैनन् ।
सेवा सुचारु गरेका २२ वटामा यो सुविधा उपलब्ध भएपनि अहिलेसम्म कुनै ग्राहकले यस्तो कर्जा लिएका छैनन् । विगत ७ वर्षदेखि सेयर लगानीकर्तालाई छोटो समयका लागि प्रदान गरिने कर्जा अर्थात मार्जिन लेन्डिङको सुविधा उपलब्ध गराउने चर्चा चलेपनि यसको प्रक्रिया भने दुई वर्ष अघि देखि मात्रै सुरु भएको हो । मार्जिन लेन्डिङ कार्यान्वयनमा आएसँगै बजार बढ्ने अपेक्षा थियो । तर अपेक्षा वास्तवीकतामा परिणत हुन सकेन ।
बजार अहिले पनि निरन्तर ओरालो लागेको छ । सेयरबजारका लगानीकर्ताले कमाउने भन्दा गुमाउने बढि भएपछि लगानीकर्ताले खासै लगानी बढाउन चाहेका छैनन् । जसका कारणपनि मार्जिन लेन्डिङ जान नसकेको बिज्ञहरु बताउँछन् ।ब्रोकर कार्यालयबाट पाइने मार्जिन लेन्डिङ कर्जाको अवधि ६ महिनाको हुन्छ ।