क्यानवेरा, १० असोज /रासस/सिन्ह्वा
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशले कोभिड–१९ विरुद्धको खोप विकास गरेमा खोप विकासबारे प्राप्त हुने जानकारी अन्य मुलुकसँग बाँड्ने घोषणा शनिबार गर्नुभएको छ ।
संयुक्त राष्ट्र संघको साधारण सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अस्ट्रेलियाले कोभिड–१९ खोप परीक्षणमा हुने कुनै पनि खोजलाई बाँड्न प्रतिवद्ध छ ।
प्रभानमन्त्री मोरिसनले भन्नुभयो, “जसले खोप भेट्टाउँछ उसले यसलाई बाँड्नै पर्छ । विश्वव्यापी महामारी अन्त्यको लागि व्यापक साझेदारी नैतिक जिम्मेवारी हो ।”
“अष्ट्रेलियाको धारणा स्पष्ट छ । यदि हामीले कोभिड–१९ विरुद्धको खोप पत्ता लगायौँ भने हामी सहकार्य गर्नेछौ । विश्वव्यापी महामारीलाई अन्त्य गर्न यो वाचा हामी सबैले गर्नुपर्नेछ,” उहाँले थप्नुभयो ।
सबैभन्दा बढी प्रभावित भिक्टोरियाका स्वास्थ्यमन्त्रीद्वारा राजिनामा
विश्वका अन्य विकशित मुलुकको तुलनामा अष्ट्रेलियामा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या कम रहेको छ । शनिबार दिउँसोसम्म अस्ट्रेलियामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या २७ हजार १६ पुगेको छ भने गत २४ घण्टामा थप सङ्क्रमित पुष्टि भएका व्यक्तिको सङ्ख्या १७ रहेको छ ।
महामारीले सबैभन्दा बढी प्रभावित राज्य भिक्टोरियामा गत २४ घण्टामा नयाँ एक व्यक्तिको मृत्यु भएको छ । यससँगै अष्ट्रेलियामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका व्यक्तिको मृत्यु सङ्ख्या ८७० पुगेको छ भने ७८२ जना भिक्टिोरियाका रहेका छन् ।
अस्ट्रेलियाको भिक्टोरिया राज्यमा देशभर कोभिड–१९ का कारण मृत्यु भएको सङ्ख्याको ८९।८ प्रतिशत व्यक्तिको मृत्यु भएपछि भिक्टोरिया राज्यका स्वास्थ्य मन्त्रीले नैतिकताको आधारमा शनिबार राजिनामाको घोषणा गर्नुभएको छ ।