आधारभूमि संवाददाता
काठमाडौं ,असोज ६
असोज २४ गते हुने भनिएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित भएको छ । सरकारले कोरोना महामारीको कारण देखाउदै निर्वाचन स्थगित गरेको जनाएको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले असोज २४ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्णय गरेको हो । बैठकले निर्वाचन कार्यालयका कर्मचारीको काज फिर्ताको निर्णय पनि गरेको छ । साथै प्रमुख निर्वाचन अधिकृतलाई पनि फिर्ता बोलाएको छ ।
सरकारले आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि देशका विभिन्न ११० ठाउँमा स्थापना गरेको थियो ।
यता निर्वाचन कार्यालयले भने निर्वाचनको तयारी पुरा भइसकेको जनाएको छ । ७७ जिल्ला र ३० विभागमा १०७ निर्वाचन कार्यालय स्थापना गरी मतदातना नामवाली संकलन, मतपेटिकाको व्यवस्था लगायतका सबै काम सकिएको थियो ।
शान्ति सुरक्षाको लागि गृहमन्त्रालयले तयारी गरिसकको थियो । अन्तिम अवस्थामा निर्वाचन स्थगित भएको छ ।
नेपाल मधेशी निजामती कर्मचारी मञ्चले निर्वाचन स्थगनका माग गर्दै आएका थिए । मञ्चले सर्वोच्च अदालतमा स्थगनको माग गर्दै मुद्दा समेत दायर गरेको छ ।
श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्वाचन स्थगित गर्ने प्रस्ताव गरेको थियो ।
त्यस्तै श्रमको प्रस्तावमा मन्त्रिपरिषद बैठकले आधिकारिक ट्रेड युनियनको हालको कार्यसमितिको म्याद आगामी वैशाख मसान्तसम्म थप गरेको छ । आधिकारिक ट्रेड युनियनको हालको कार्यसमितिको म्याद गत जेठ १९ गते नै सकिएको थियो ।