neapl investment mega bank
  • गृहपृष्ठ
  • पेरिस सम्झौताबाट अमेरिका अलग्गिएको राष्ट्रसंघलाई औपचारिक पत्र

पेरिस सम्झौताबाट अमेरिका अलग्गिएको राष्ट्रसंघलाई औपचारिक पत्र

Nov 5th, 2019

संयुक्त राष्ट्रसंघ, १९ कात्तिक (रासस/सिन्ह्वा)

संयुक्तराज्य अमेरिकाले जलवायू परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग्गिएको राष्ट्रसंघलाई औपचारिक जानकारी गराएको छ । केही वर्षअघि फ्रान्सको राजधानी पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्ने भन्दै विश्वका नेताहरुको सहभागितामा बनाइएको पेरिस सम्झौताबाट अलग्गिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू निर्वाचित भएलगत्तै घोषणा गर्नुभएको थियो । 

प्राप्त समाचारअनुसार यस प्रयोजनका लागि संयुक्तराज्य अमेरिकाले संयुक्त राष्ट्रसंघलाई मङ्गलबार औपचारिक पत्र पठाएको हो । यस निर्णयसम्बन्धी आफ्नो जानकारीका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसलाई मङ्गलबार पत्र लेखेर औपचारिक रुपमै जानकारी गराउनुभएको राष्ट्रसंघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ताले अमेरिकाले पत्र लेखेको पुष्टि गर्नुभएको छ । 

उहाँले भन्नुभएको छ– महासचिव गुटर्रेसले संयुक्तराज्य अमेरिकाले सन् २०१५ डिसेम्बर १२ मा गरेको पेरिस सम्झौताबाट हट्न अमेरिकाले पठाएको पत्र प्राप्त गर्नुभएको छ । अमेरिकाले उक्त सम्झौतामा भएका प्रावधानहरुको पालना गर्न नसक्ने भन्दै आएकोमा नोभेम्बर ४ देखि आफू अब सो सम्झौताबाट नै पछि हटेको औपचारिक रुपमा पत्र आएको प्रवक्ताले जानकारी दिनुभयो ।यस सम्झौतामा भएका कतिपय प्रावधानका कारणले अमेरिकालाई अनावश्यक रुपमा आर्थिक भार थपेको अमेरिकाको भनाई थियो । यसैकारण देखाएर अमेरिकाले सो सहमतिको कार्यान्वयनमा जान नसक्ने बताउँदै आएको थियो । 

सन् २०१५ मा सम्पन्न भएको सो सम्झौतामा अमेरिकाले सन् २०१६ को अप्रिल २२ मा हस्ताक्षर गरेको थियो । करिब एक महिना अघि नै अमेरिकाको यस योजनाबारे संयुक्त राष्ट्रसंघलाई अमेरिकाले जानकारी गराएको थियो । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले राष्ट्रसंघलाई यस बारेमा औपचारिक रुपमा नै जानकारी दिनुभएको थियो ।

जालवायू परिवर्तनका क्षेत्रमा ऐक्यबद्ध भएर लड्ने प्रतिवद्धता व्यक्त भएको सो सम्झौतामा विश्वका अमेरिकासहितका विश्वका एक सय ८८ देश सहभागी छन् । राष्ट्रसंघीय प्रवक्ताले अमेरिकाले दिएको सो पत्र प्राप्त भएकोले राष्ट्रसंघले सोही बमोजिम काम गर्ने भन्दै यही नोभेम्बर ४ देखि नै अमेरिका सो सम्झौताबाट अलग भएको कुरा प्रावधान कार्यान्वयनमा आउने जानकारी दिनुभएको छ ।