neapl investment mega bank aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • विश्व नेपाली स्वास्थ्य घोषणा पत्रमाथि छलफल सुरु

विश्व नेपाली स्वास्थ्य घोषणा पत्रमाथि छलफल सुरु

Sep 19th, 2020

काठमाडौ, असोज ३

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु भएको छ । भर्चुअल माध्यमबाट शुक्रबारदेखि सुरु भएको उक्त सम्मेलनको पहिलो चरणमा समितिका अध्यक्ष डाः संजिव सापकोटाले २४ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणा पत्रको ड्राफ्ट प्रस्तुत गर्नुभयो ।

घोषणा पत्रको ड्राफ्ट प्रस्तुत गर्दै डाः संजिव सापकोटाले स्वास्थ्य हामी सबैको नैर्सगिक अधिकार भएको बताउनु भयो । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पनि हामीलाई स्वास्थ्य नभई बाँकी अरु केही पनि हुँदैन भन्ने कुरा सिकाएकाले स्वास्थ्यप्रति सबै सचेत हुनुपर्ने डाः सापकोटाले जोड दिनुभयो ।

‘अहिले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, खाडी, लगायत विश्वका विभिन्न मुलुकहरुमा ५ हजारभन्दा बढी डाक्टरहरु कार्यरत छौँ र हजारौँको संख्यामा नर्सहरु हुनुहुन्छ । विश्वमा छरिएका हामी सबै स्वास्थ्यकर्मीहरु एकजुट भएर अगाडी बढ्नुपर्ने आबश्यकता छ’ डाः सापकोटाले भन्नु भयो । घोषणा पत्रले स्वास्थ्यकर्मीको भुमिका, मानसिक स्वास्थ्य, महिला स्वास्थ्यको, युवा स्वास्थ्य लगायत विषयलाई समेटेको उनले बताए । अस्पताल र क्लिनकमा मात्रै ध्यान दिने होइन पोषिलो खाना र व्यायमबाटमा समेत ध्यान पुर्याउनुपर्ने कुराहरु उल्लेख गरिएको उहाँले बताउनु भयो । त्यस्तै डब्लुएचओ, युनिसेफ सबै मिलेर काम गर्नुपर्ने उहाँले जोड दिनु भयो ।

नेपाल बाहिर रहेका ८० लाख नेपालीहरु तथा नेपालभित्रका ३ करोड गरी करिब ४ करोड मानिसहरुको स्वास्थ्य सुरक्षाका सम्बन्धमा सबैले मिलेर अगाडी बढ्नुपर्ने उहाँको धारणा थियो ।
घोषणापत्रमाथि विभिन्न मुलुकमा कार्यरत स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले आआफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नर्वेबाट डाः सुरज थापाले घोषणा पत्रमा मानसिक स्वास्थ्य लगायत संवेदनशील स्वास्थ्यका विषयहरु समेटिनु उपयुक्त पक्ष भएको बताउनु भयो । घोषणा पत्रले धेरै कुरा समेटेको उहाँले जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै अस्ट्रेलियाबाट डा कुश श्रेष्ठले यो विषयमा सरकारको सहभागीता पनि महत्वपूर्ण हुने बताउनु भयो ।

देशबाहिर ठूलो संख्यामा रहेका स्वास्थ्यकर्मीहरुसँग सरकारले समेत हातेमालो गरेर अगाडी बढ्नुपर्ने उहाँको भनाई थियो । युकेमा कार्यरत नर्स प्रसुना कडेलले आफूले विदेशमा सिकेको ज्ञान नेपालमा बाड्न सक्ने बताउनु भयो । यहि २० तारिखमा हुने नर्सिङ कन्फिरेन्समा समेत सहभागीता जनाउन उहाँले आग्रह गर्नु भयो ।

एनआरएनए कतारका सचिव आरके शर्माले सबैभन्दा ठूलो संख्यामा नेपालीहरु रहेका मध्यपूर्वी खाडी मुलुकहरुमा स्वास्थ्य सचेतनाका कार्यक्रम आबश्यक रहेको बताउनु भयो । सचेतनाको अभावका कारण यी मुलुकहरुमा ठूलो संख्यामा नेपालीहरुले ज्यान गुमाउनुपर्ने अबस्था सिर्जना भएको उहाँको भनाई थियो ।

कार्यक्रममा विभिन्न मुलुकमा कार्यरत ३० भन्दा बढी स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको सहभागीता थियो । घोषणा पत्रमा नर्सको भुमिका लगायत केही आबश्यक विषयहरु समेट्नुपर्ने अधिकांशको सुझाव थियो । कार्यक्रममा नर्वेबाट डाः सुरज थापा, युकेबाट डाः प्रसुना कडेल, नर्स मन्जु संग्रौला, डाः कुश श्रेष्ठ, डाःसरिता पाण्डे, भुपेन्द्र वस्नेत, नर्स मन्जु संग्रैला, लगायतले कार्यक्रममा आफ्नो धारणा तथा सुझाव प्रस्तुत गर्नु भएको थियो ।

शुक्रबार प्रस्तुत घोषणा पत्रमाथि ३ दिनसम्म बहस चल्ने र अन्तिम दिन २० सेप्टेम्बर आइतबार घोषणा पत्रमाथि हस्ताक्षर हुने डा संजिव सापकोटाले बताउनु भयो । शुक्रबारदेखि सुरु भएको दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबारसम्म चल्नेछ । शनिबार सम्मेलनको उद्घाटन स्वास्थ्यमन्त्रीले गर्ने डाः सापकोटाले जानकारी दिनुभयो । आइतबार नै घोषणा पत्रमाथि हस्ताक्षर कार्यक्रम समेत रहेको उहाँले बताउनु भयो ।

aadharbhumi
aadharbhumi
aadharbhumi