टोकियो, २९ भदौ /एपी
जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीको प्रमुखमा सोमबार योशिहिदे सुगा निर्वाचित हुनुभएको छ ।
यसै हप्ताको अन्त्यमा उहाँ संसदीय दलको नेता निर्वाचित भएमा उहाँलाई जापानको प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ ।
सोमबार भएको पार्टी भित्रको निर्वाचनमा उहाँले ३७७ मत प्राप्त गर्नुभएको थियो । उहाँसँग प्रतिश्पर्धा गर्नुभएका पूर्व विदेश मन्त्री फुमिओ किशिदाले ८९ र पूर्व रक्षा मन्त्री शिगेरु इशिबाले ६८ मत मात्रै प्राप्त गर्नुभएको थियो ।
निवर्तमान प्रधानमन्त्री सिन्जे आबेको अति निकटस्थ पात्रका रुपमा रहनु भएका ७१ बर्षीय सुगालाई धेरैले भावी प्रधानमन्त्रीका रुपमा हेर्न थालिसकेका छन् ।
सुगाले आबे नेतृत्वको सरकारमा सरकारको मुख्य प्रवक्ता र मन्त्रीपरिषद्को मुख्य सचिवका रुपमा जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
जापानको संसदमा अहिले सुगाले आजदेखि नेतृत्व गरेको पार्टीको बहुमत रहेकाले उहाँकै पार्टीले बनाएको उम्मेदवार नै प्रधानमन्त्रीमा निर्वाचित हुनेछ ।
पार्टीको प्रमुख निर्वाचित भएपछि उहाँले देश र जनताको लागि काम गर्न आफु सँधै प्रतिबद्ध रहेको बताउनुभएको छ । “मेरो लगाव सवै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु,” उहाँले भन्नुभयो ।
उहाँले आफुले सवैभन्दा बढी प्राथमिकता कोरोनाविरुद्धको लडाईमा दिने र जापानी अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने बताउनुभएको छ । त्यसका लागि सवैको तर्फबाट सहयोग प्राप्त हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
निवर्तमान प्रधानमन्त्री आवेले केहीदिन अगाडि अस्वस्थताको कारण देखाउदै प्रधानमन्त्री पद त्यागको घोषणा गर्नुभएको थियो ।
उहाँ शुरुमा सन् २००६ देखि २००७ सम्म पहिलो पटक प्रधानमन्त्री हुनुभएको थियो । त्यतिबेला पनि अस्वस्थतालाई कारण देखाउदै पद त्याग गर्नुभएका आबे स्वास्थ्यमा सुधार आएपछि सन् २०१२ मा फेरी प्रधानमन्त्रीमा निर्वाचत हुनुभएको थियो । त्यसपछि केही दिन अगाडिसम्म उहाँ लगातार प्रधानमन्त्री हुनु भएको थियो ।
उहाँ जापानमा सवैभन्दा लामोसमयसम्म प्रधानमन्त्री बनेको नेताका रुपमा रहनु भएको छ । उहाँको कार्यकाल अझै झण्डै एक बर्ष बाँकी नै थियो । उहाँले सरकारको नेतृत्व गरेका बेलामा सुगाले अति निकट भएर उहाँसँग काम गर्नुभएको थियो ।
जापानमा अहिलेपनि आबेलाई अति लोकप्रिय नेताका रुपमा लिइने र पार्टी भित्र पनि उहाँको प्रभाव अत्यधिक धेरै भएकाले उहाँले अगाडि सारेको व्यक्ति नै प्रधानमन्त्री हुने देखिएको छ । उहाँले अप्रत्यक्ष रुपमा अगाडि सारेकै कारणले सुगालाई सोमबार पार्टी प्रमुखमा निर्वाचित गरिएको बताइएको छ ।