आधारभूमि संवाददाता
काठमाडौ, भदौ २६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठकले प्रचण्डलाई कार्यकारी अध्यक्षको भूमिका दिने निर्णय गरेको छ । साथै बैठकले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली सरकारको काममा केन्द्रीत हुने निर्णय गरेको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ ।
अध्यक्ष प्रचण्डले कार्यकारी अधिकारसहित पार्टी कामको नेतृत्व गर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार बैठले अध्यक्षको कार्यविभाजन टुंगो लगाएको छ । अव प्रधानमन्त्री सरकारका काम कारबाहीमा केन्द्रीत रहने छन् भने नेकपाले सरकारका कामकारबाहीमा पार्टीले कुनै हस्तक्षेप गर्ने छैन ।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिका आधारमा गठित महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको समस्या समाधान कार्यदलको सुझावलाई थप गृहकार्य गरी ठोस कार्ययोजनाका रुपमा प्रस्ताव प्रस्तुत गरेका थिए ।
पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो । गत साउन ३० मा भएको छलफलबाट महासचिव पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष दाहालले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव दिइएको थियो ।
छलफलका क्रममा उठेका सुझावलाई समेत प्रचण्ड र ओलीले अघि सारेको १५ बुँदे प्रस्तावमा समावेश गर्ने निर्णय गरिएको वताइएको छ ।
पारित प्रस्तावमा राष्ट्रियताको विषयमा एकढिक्का भएर अघि बढ्ने, पार्टीलाई गतिशील बनाउने, विधि र पद्धतिअनुसार अघि बढ्ने, पार्टीका निर्णयलाई कार्यान्वयनमा लैजाने जस्ता विषय रहेका छन् ।
यसैगरी आजको बैठकमा स्थायी समिति सदस्यहरु रघु पन्त, लिलामणि पोख्रेल, भीम आचार्य, माधव नेपाल, अष्ठलक्ष्मी शाक्य, युवराज ज्ञवाली, देव गुरुङ, घनश्याम भुसाल, मातृका यादव, भीम रावल अमृत बोहरा, झलनाथ खनाल र नारायणकाजीले धारणा राखेका थिए ।