आधारभूमि संवाददाता
काठमाडौं, भदौं २६
सरकारले पुनर्बिमा बापत २० प्रतिशत स्वदेशकै पुनर्बिमा कम्पनीमा बिमा गराउनु पर्ने भनेपछि ६ वर्षमा २१ अर्ब रकम बिदेश जानबाट रोकिएको छ ।
नेपाल पुनर्बिमा कम्पनीले ३९ वटा बिमा कम्पनीबाट २१ अर्ब बिमा शुल्क संकलन गरेको छ । साथै १३ वटा विदेशी मुलुकबाट गत वर्ष मात्रै ५९ करोड रकम बिमा शुल्क बापत मुलुक भित्राएको छ ।
२०७५/०७६ सम्म ३२ राष्ट्रबाट पुनर्बिमा बापत देशमा ७१ करोड आएको थियो । तर जोखिम बढि भएका राष्ट्रमा भने गत वर्षदेखि बिमा गर्न कम गरेकाले यो वर्ष भने जम्मा १३ राष्ट्रबाट देशमा भित्राएको छ । स्थापना भएदेखि अहिलेम्म बिदेशबाट बिमा शुल्कबापत १ अर्ब ६९ करोड भित्राएको छ भने ७९ करोड ४३ लाख भुक्तानी गरेको छ ।
त्यस्तै स्वदेशी कम्पनीको २१ अर्बको बिमा गराएको पुनर्बिमा कम्पनीले अहिलेसम्म ६ अर्ब रकम यहीका कम्पनीलाई दाबी स्वरुप भुक्तानी पनि गरेको छ । स्वदेशका कम्पनीले मात्रै होइन विदेशी कम्पनीले पनि नेपाल पुनर्बिमा कम्पनीमा बिमा गराउन थालेका छन् ।
सरकारले बिमा कम्पनी खोलेर रकम विदेशीनबाट रोक्ने प्रयास गरेको छ । बाहिरिने रकम रोक्न सरकारले यहाँका बिमा कम्पनीले कुल पुनर्बिमाको २० प्रतिशत स्वदेशमै स्थापना भएको नेपाल पुनर्बिमा कम्पनीमा गर्नुपर्ने प्रावधान बनाएको छ । जसअनुसार गत वर्ष यहाँका ३९ बिमा कम्पनीले ७ अर्ब ५ करोड बिमा को नेपाल पुनर्बिमा कम्पनीमा पुनर्बिमा गरेका छन् । स्थापना भएदेखि अहिलेसम्मका ६ वर्षमा झन्डै २१ अर्ब बिमा शुल्क स्वदेशमै बिमा भएको छ ।
पुनर्बिमा कम्पनीमा अहिले सरकारको ४४ , जिवन बिमा तथा निर्जिबन बिमाको ३९ र सर्वसाधारण लगानीकर्ताको १६ प्रतिशत लगानी छ । भारतमा पुनर्बिमाको ५० प्रतिशत सम्म स्वदेशकै बिमा कम्पनीमा पुनर्बिमा गर्ने गराइएको छ । तर यहाँ भने २० प्रतिशतमै सिमित राखिएको छ ।