काठमाडौं, भदौ २६
आधारभूमि संवाददाता
भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या झण्डै ४५ लाख भन्दा बढी पुगेको छ । स्रोतको अनुसार कुल सङ्क्रमितको संख्या ४५ लाख ५९ हजार ७२५ पुगेको हो । ती मध्ये ९३ हजार ८६१ जना पछिल्लो २४ घण्टामा थपिएका छन् । यस अघि बिहीबार भारतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै ९६ हजार जना कोभिड–१९ का सङ्क्रमित थपिएका थिए।
कुल सङ्क्रमित मध्ये ९ लाख ४३ हजार ४३८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यस बाहेक ३८ लाख ७९ हजार ९६० जना सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा अहिलेसम्म ७६ हजार ३०४ जनाको कोरोनाभाइरसकै कारण मृत्यु भएको छ । ती मध्ये एक हजार २४४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ ।
चीनको हुबे प्रान्तको वुहान सहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
सबैभन्दा धेरै सङ्क्रमित र मानवीय क्षति अमेरिकामा भएको छ भने दोस्रो धेरै प्रभावित भारतमा देखिएको छ ।
स्रोत : वर्ल्डोमीटर