neapl investment mega bank
  • गृहपृष्ठ
  • होम डेलिभरी सेवाको मापदण्ड तोकियो,तोकिएको मापदण्ड लागू नभएमा कडा कारवाही हुने

होम डेलिभरी सेवाको मापदण्ड तोकियो,तोकिएको मापदण्ड लागू नभएमा कडा कारवाही हुने

Sep 4th, 2020

काठमाडौँ, १९ भदौ /रासस

जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा छ । यससँगै आजदेखि घरदैलो सेवा समेत सञ्चालनमा आएको छ ।

सेवा सञ्चालन गर्दा तोकिएको मापदण्ड लागू नभएमा कडा कारवाही हुने प्रशासनले चेतावनी दिएको छ । घरदैलो सेवाको आजदेखि नै अनुगमन शुरुआत भइसकेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।“कोभिड–१९ को सङ्क्रमण जोखिम रहेका बेला लापरबाही गर्न दिनुहुन्न भनेर हामीले मापदण्ड स्वीकृत गरेका छौँ, यस अनुसारको सेवा सञ्चालन गर्न आजदेखि खुला छ, उहाँले भन्नुभयो, “प्रशासन, प्रहरी र स्थानीय तहबाट सुक्ष्म अनुगमन हुन्छ, मापदण्ड प्रयोग गरेको नपाइए तत्कालै कारवाही गरिन्छ ।”

विहीबार मात्रै उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले उक्त मापदण्ड स्वीकृत गरेका थिए । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा बनेको समितिले उक्त मापदण्ड तयार पारेको हो । तोकिएको खाद्यवस्तुसहित अन्य घरदैलो सेवा दिउँसो एक बजेदेखि साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।कोभिड–१९ को सङक्रमण बढिरहेको अवस्थामा मापदण्ड विपरीत सेवा सञ्चालन गर्दा घरघरमा सङ्क्रमण फैलिन सक्ने जनाउँदै स्थानीय प्रशासनले अघिल्लो हप्ता उक्त सेवा बन्द गरेको थियो । त्यसपछि बसेको संयुक्त बैठकले बनाएको समितिले मापदण्ड निर्माण गरी लागू गरेको हो ।

यसरी सेवा सञ्चालन गर्ने संस्था दर्ता भइ नवीकरण भएको हुनुपर्ने र सोको प्रतिलिपि सेवा दिन जाने व्यक्तिसँगै रहेको हुनुपर्ने स्वीकृत मापदण्डमा उल्लेख छ । वस्तु वा सेवाको मूल्य अनलाइनमा अनिवार्य रुपमा राखेको हुनुपर्नेछ । सरकारले तोकेको स्वास्थ्य, सुरक्षा मापदण्डको पूर्णपालना भएको हुनुपर्ने तथा सेवाग्राहीसँग कम्तीमा दुई मिटरको दूरी कायम हुनुपर्ने जनाइएको छ । यसरी मापदण्ड प्रयोग गरे वा नगरेको बारे सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बनेको समितिले अनुगमन गर्नेछ । काठमाडौँमा भने सहायक प्रजिअ जीवनप्रसाद दुलालको नेतृत्वमा अनुगमन समिति रहेको छ । स्थानीय तहको वडाका प्रतिनिधिले समेत निगरानी राख्ने जनाइएको छ ।
­­

aadharbhumi
aadharbhumi
aadharbhumi