neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारको घोषणा १ खर्बको पुर्नकर्जा कोष, जनताले पाए ७ अर्ब ऋण

सरकारको घोषणा १ खर्बको पुर्नकर्जा कोष, जनताले पाए ७ अर्ब ऋण

Sep 2nd, 2020

आधारभूमि संवाददाता

काठमाडौं, भदौ १७

सरकारले चालु आर्थिक वर्षको बजेटबाट पुनकर्जा कोषलाई १ खर्बको बनाउने भनेको छ । पुनर्कर्जा बढाउनका लागि कोषको आकार बढाउने भनेपनि कर्जा भने सो अनुपातमा बढ्न सकेको छैन ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असार मसान्तसम्ममा सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा ७ अर्ब ४९ करोड कर्जा प्रवाह भएको छ । यस अन्तर्गत साधारण पुनरकर्जा ५ अर्ब ८८ करोड र भूकम्प पीडितलाई प्रवाह गरिएको पुनरकर्जा १ अर्ब ६१ करोड रहेको छ ।

२०७७ असार मसान्तसम्ममा ३२ हजार ४ सय ४८ ऋणीले यस्तो सहुलियतपूर्ण कर्जा पाएका छन् । साथै ५९ अर्ब ५६ करोड कर्जा बक्यौता रहेको नेपाल राष्ट्र बंैंकले जनाएको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत २४ हजार ७ सय ६३ ऋणीलाई प्रवाह भएको ५४ अर्ब ११ करोड कर्जा रहेको छ भने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत ७ हजार ६ सय ८५ ऋणीको ५ अर्ब ४५ करोड कर्जा बक्यौता रहेको छ ।

त्यस्तै गत वर्षमा वर्षमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १९.४ प्रतिशतले बढेको थियो ।

निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १६ प्रतिशतले र वित्त कम्पनीहरुको ८ प्रतिशतले बढेको छ भने विकास बैंकहरुको कर्जा प्रवाह १६.२ प्रतिशतले घटेको छ । गत वर्षमा ६ विकास बैंक वाणिज्य बैंकमा गाभिएका तथा प्राप्ति भएका कारण विकास बैंकको कर्जा प्रवाह घटेको देखिएको हो ।

२०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६५.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.४ प्रतिशत र १३.५ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरुको कृषि क्षेत्रतर्फको कर्जा १६.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११.५ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १८.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा २२.१ प्रतिशतले बढेको छ ।