आधारभूमि संवाददाता
काठमाडौं,भदौ १६
आपुर्ति श्रृङ्खला बिग्रदा अहिले देशभरका उद्योगधन्दाले क्षमताको ३० प्रतिशत मात्रै उत्पादन गरेका छन् । महामारी सुरुवात भएपछि निजी क्षेत्रमा काम गर्ने २२ प्रतिशत कर्मचारीहरु बेरोजगार बनेका छन् भने कैयनले चैत यतादेखि तलब पाउन सकेका छैनन् ।
कामको खोजिमा बिदेश पसेका युवाशक्ति महामारी सुरुभएपछि नेपाल फर्केको छ । चैत यता मात्रै ५५ हजार स्वदेश फर्केका छन् । शहरी क्षेत्रका निजी उद्योगधन्दा तथा कम्पनीमा काम गर्ने युवा पनि चैत यतादेखि तलब नपाएपछि अहिले गाउ फर्केका छन् । कामदारले रोजगारी गुमाउने र व्यवसायी व्यवसायबाटै पलायन हुने क्रम बढ्दो छ ।
बिकास निर्माण सम्वद्ध भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो वर्ष समयमै बिकास निर्माण अघि बढाउने र असारे बिकासको अन्त्य हुने दावी गरेको थियो । अहिले यो मन्त्रालय के गर्दै छ त ?
किनमेलमा धेरै मानिसहरुको आवतजावत हुँदा संक्रमण जोखिम हुन्छ । त्यसैले अनलाइन मार्फत हुने कारोबारलाई राज्यले यतिबेला प्रवर्धन गर्नुपर्छ । तर सरकारले यस्तो आपूर्ति श्रंखला सहज गराउनुपर्नेमा अनलाइन मार्फत सामान पुराउनेहरुलाई नियन्त्रणमा लिने गरेको छ ।
अन्य मुलुकमा जस्तो सरकारले यहाँ गरिब तथा किसानलाई प्रत्यक्ष रकम बाड्न सकेको छैन ।
बजेटमा घोषणा भएका आर्थिक पुनरुत्थानका कार्यक्रमहरु अहिलेसम्म कार्यान्वयनमा आउन सकेका छैनन् । कोरोना महामारीका बिचमै अर्थतन्त्र चलायमान गराउन प्रयास गर्ने भनेपनि सरकारले बिकास निर्माणमा कामलाई अघि बढाउन सकेको छैन ।
कारोनाको जोखिम कम भएका क्षेत्रमा यतिबेला बिकास निर्माणका कामलाई तिब्रता दिनु जरुरी छ । जसले मजदुरलाई रोजगारी मात्रै दिदैन, औद्योगिक उत्पादनको खपतमा बृद्धि मात्रै होइन राज्यको राजस्व समेत बढाउँछ ।
मंसिर महिनामा मात्रै ठेक्का पट्टाको टुंगो लाग्ने र ठेकेदारले असार तिर हतार हतार कामगर्ने प्रचलन छ । जसका कारण सरकारको बिकास निर्माणमाका लागि छुट्टाइएको सरकारको खर्च पनि वर्षको अन्त्यमा आएर हुने गरेको छ ।
आइबार सम्म सरकारले ९८ करोड खर्चेको छ । अहिले कोरोना संक्रमण कम भएका क्षेत्रमा सडक निर्माणका साथै, नदि क्षेत्रका आसपासमा तटबन्ध र बृक्षारोपण गर्न सके यसले रोजगारीका साथै बिकास खर्च पनि बढाउन सकिने छ ।