आधारभूमि संवाददाता
काठमाडौं, भदौ ९
आयातमा आएको संकुचन र रेमिट्यान्स नियमित आउँदा अघिल्लो वर्ष शोधनान्तर स्थिति ६७ अर्ब ४० करोडले घाटामा रहेकोमा यो वर्षको सोहि अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा छ ।
त्यस्तै कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ६५ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १२.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
२०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९०२ अर्ब ४४ करोड रहेकोमा २०७७ असार मसान्तमा १२२६ अर्ब १२ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १३६ अर्ब ४७ करोड रहेकोमा २०७७ असार मसान्तमा १७५ अर्ब ७१ करोड पुगेको छ । २०७७ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा चालु खाता घाटा ८७.९ प्रतिशतले घटी ३२ अर्ब ६ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा २६५ अर्ब ३६ करोड थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ३५ करोड रहेको चालु खाता घाटा समीक्षा वर्षमा ३२ करोड ६० लाख रहेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा पुँजीगत ट्रान्सफर ८.१ प्रतिशतले घटी रु.१४ अर्ब २१ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४९.१ प्रतिशतले वृद्धि भई रु.१९ अर्ब ४८ करोड पुगेको छ ।
अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर रु.१५ अर्ब ४६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१३ अर्ब ६ करोड रहेको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई ८७५ अर्ब ३ करोड कायम भएको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो ।
आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो ।