आधारभूमि संवाददाता
काठमाडौं ,७ भदौ
कोभिड १९ को महामारी बढ्न थालेपछि विभिन्न स्थानमा गरिएको निशेधाज्ञाको प्रभाव खाद्यवस्तुमा देखिन थालिसकेको छ । निषेधाज्ञाको फाइदा उठाउँदै व्यापारीहरुले खाद्यान्नको मनोमानी रूपले मूल्य बढाउन थालेको पाइएको छ।
उच्च जोखिम र निषेधाज्ञाका कारण अनुगमन नहुँदा कालोबजारीको साथै मूल्यवृद्धि बढ्न थालेको हो । व्यापारीहरुले बजारमा अभाव भएको बाहाना पार्दै एउटै वस्तुमा प्रतिकेजी २० देखि ५० रुपैयाँसम्म वृद्धि गरेका छन् ।
पछिल्लो १ हप्तामा तरकारीको मूल्य १ सय २० प्रतिशतले बढेको छ भने खाद्यान्नहरूमा चिनी, मुसुरो दाल, तेल आदिमा पनि मूल्य बढेको छ ।तेलको मूल्यमा पनि १० देखि १५ रुपैयाँले बढेको छ भने चिनी १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
जबकी चिनीको मूल्य यस अघि ८० रुपैंया थियो । निषेधाज्ञापूर्व मुुसुरोको दाल प्रतिकेजी १ सय २० रुपैयाँ थियो भने अहिले १ सय ५० रुपैयाँँदेखि १ सय ८० रुपैयाँसम्ममा बेच्दै आएको पाइएको छ ।
यसैगरी घिउमा पनि प्रतिकिलो ३ सयले बढेको छ । ९ सय प्रतिलिटर पाइने घिउलाई १२ सय रुपैयाँ लिएर पसलेले बिक्री वितरण गर्दै आएका छन्।
यसअगाडि नेपालमा लकडाउन भएसँगै व्यापारीको चलखेल नहोस् भन्नका लागि अनुगमन पनि तीव्र पारिएको थियो ।तर अहिले सरकारी तवरबाट अनुगमान भएको छैन ।
पहिले साल्ट ट्रेडिङ कर्पोरेसन आफैँले साना भ्यानमा खाद्यान्न घरघरै पुर्याउने व्यवस्था मिलाएको थियो ।
कर्पोरेसनले १८ चैतयता भित्री शहरमा पुगेर माइकिङ गर्दै चिनी, नुन, तेल, चामल आफैँ बिक्री गर्दै आएको थियो तर बीचमा लकडाउन खुलेपछि यो क्रम रोकिएको थियो ।
यता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने बजारमा फैलिएजस्तो अभावको अवस्था सिर्जना नभएको जनाएको छ । अझै ३ देखि ४ महिनासम्म नहुने मन्त्रालयको दावी छ ।
मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ९५ हजार २ सय ३९ टन चामल मौज्दात छ । यस्तै नुन १ लाख ३५ हजार टन मौज्दात छ भने चिनी १५ हजार ९ सय ४७ टन मौज्दात छ ।
त्यसैगरी फापर ५८ क्वीन्टल , गहुँ ४ सय ६४, दाल २० हजार ५२ मेट र खानेतेल ७५ हजार ४ सय ५ टन मौज्दात रहेको जनाइएको छ ।
यसैबिच सरकारले भने घरमा सामान सकिए घरघरमा आएर समान उपलब्ध गर्ने आश्वाशन दिएको छ । निशेधाज्ञाको बेलामा खाद्यान्नको अभाव भए ११३७ मा फोन गरेर जानकारी दिन सकिने बताएको छ ।