neapl investment mega bank

४५ मिनेटको बाटो अब पाँच मिनेटमा

Aug 23rd, 2020

कास्की,७ भदौ/रासस

कास्कीको माछापुच्छ्रे गाउँपालिकाको लस्ती खोलामा झोलुङ्गे पुल बनेपछि दुई वडाका स्थानीयवासी औधि खुुशी भएका छन् । वडा नं ३ घाचोकको डिलिनचौर र वडा नं ४ लाहाचोक पहेँले जोड्ने गरी लस्तीमा १०६ मिटर लामो पुल गत साउन मसान्तमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको थियो । अब घुमाउरो बाटो भएर नदी वारपार गर्नुपर्ने बाध्यता हटेर समयको समेत बचत भएको छ ।

सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गतको अनुदान सहयोग, गाउँपालिका र स्थानीय उपभोक्ताको साझेदारी गरी रु ४९ लाख ६१ हजार लागतमा निर्माण गरिएको पुल सञ्चालनमा आएसँगै आवतजावतका लागि कम्तीमा पौने घण्टा समय बचत भएको वडा नं ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्सालले बताउनुभयो । पुल निर्माणका लागि नौलो घुम्ती नेपालले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

उहाँले भन्नुभयो,“फागुन पहिलो सातादेखि शुरु भएको झोलुङ्गे पुल निर्माण लकडाउनमा समेत निरन्तर काम भएर साउन मसान्तदेखि सञ्चालनमा आएको छ, दुवै वडाका नागरिकलाई घुमाउरो बाटो भएर आउन÷जान एक घण्टा लाग्ने गरेकामा अब पाँच मिनेटमै वारपार गर्न सकिन्छ ।”
घाचोकका युवक विष्णु पोखरेलले पुल निर्माणपछि दुवै वडाका वडाबासीहरूलाई कहालीलाग्दो लस्ती खोलाको असुरक्षित ठाडो उकाली÷ओराली गर्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको जानकारी दिनुभयो ।

दुई वडाबीच खेती किसानीमा अर्म÷पर्म गर्न मिल्ने, घाँस काट्न आउन जान सजिलो तथा कृषिउत्पादन बिक्रीवितरणमा समेत सहयोग पुगेर समग्र क्षेत्रमा समृद्धिसहित भावनात्मक सम्बन्ध समेत थप मजवुत हुने उहाँको भनाइ छ ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्रबाबु हमालले समितिमा दुवै वडाबाट सदस्य रहेको बताउँदै दिँदै कोरोना महामारीमा समेत निरन्तर निर्माण गरिएको जानकारी दिनुभयो । पुल सञ्चालनपछि दुवै वडाका गरि ४०० घरधुरीका दुई हजार जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएको बताइन्छ ।

क्षेत्रगत कार्यक्रमबाट रु ४५ लाख ६४ हजार ३९८, गाउँपालिकाबाट रु दुई लाख ९७ हजार ६७८ तथा जनश्रमदानबाट रु ९९ हजार २२६ लागतमा पुल निर्माण भएको हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi