आधारभूमि संवाददाता
काठमाडौँ,७ भदौ
नेपालमा थप ८१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ८ हजार २६ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार २६ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ११ हजार ४१४ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १३ हजार १५५ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा पर्सा,सर्लाही, रौतहट, महोत्तरी,मोरंग र काठमाडौँ रहेका छन् ।हालसम्म ५ लाख ६५ हजार बढीको पिसिआर परीक्षण भएको छ।
थप २८१ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा २८१ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट २८१ जना डिस्चार्ज भएको बताए ।
योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १८ हजार ६३१ पुगेको छ । त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका जिल्लामा म्याग्दी , मुस्ताङ र हुम्ला रहेका छन् ।