आधारभूमि संवाददाता
काठमाडौँ,५ भदौ
नेपालमा थप ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १३ हजार ५७९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १३ हजार ५७९ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १२ हजार २३४ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या १२ हजार १३२ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा सर्लाही, रौतहट, महोत्तरी,मोरंग र काठमाडौँ रहेका छन् ।हालसम्म ५ लाख ६५ हजार बढीको पिसिआर परीक्षण भएको छ।
थप २५० जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा २५० जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालाबाट २५० जना डिस्चार्ज भएको बताए ।
योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १८ हजार २१४ पुगेको छ । त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका जिल्लामा भोजपुर,म्याग्दी , मुस्ताङ र हुम्ला रहेका छन् ।