neapl investment mega bank
  • गृहपृष्ठ
  • संसदका सभा अध्यक्षहरूको पाँचौ विश्व सम्मेलन ’भर्चुअल ’ माध्यमबाट सुरु

संसदका सभा अध्यक्षहरूको पाँचौ विश्व सम्मेलन ’भर्चुअल ’ माध्यमबाट सुरु

Aug 20th, 2020

काठमाडौ, भदौ ४

संसदका सभा अध्यक्षहरुको पाँचौ विश्व सम्मेलन ’भर्चुअल’ माध्यमबाट सुरु भएको छ। अन्तर व्यवस्थापिका संघ (आईपीयू) र अष्ट्रियाको संसद (पार्लियामेन्ट अफ् अष्ट्रिया) को संयुक्त आयोजनामा भएको सम्मेलनमा नेपालको संसदबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा अन्य दुई सांसद सहभागी रहेकाछन । सम्मेलनमा अध्यक्ष तिमिल्सिनासँगै प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का र राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौड्याल सहभागी रहेकाछन ।

प्रत्येक पाँच वर्षमा हुँदै आएको सम्मेलन यस वर्ष अष्ट्रियाको भियनामा यही अगष्टका लागि तय भएको थियो । तर, कोरोना संक्रमणका कारण यही भदौ ३ र ४ गते भर्चुअल माध्यमबाट सम्मेलन बुधबार सुरु भएको हो । सम्मेलन सन् २०२१ मा पुन अष्ट्रियामा नै आयोजना हुने आईपीयूको सचिवालयले जनाएको छ । सयभन्दा बढी देशका संसदका सभाअध्यक्ष नेतृत्वको टोली सहभागि रहेको सम्मेलनको मुख्य विषय ’मानव र पृथ्वीको शान्ति तथा दिगो विकासको बहुपक्षीय प्रभावकारिताका लागि संसदीय नेतृत्व’ रहेको छ ।

सम्मेलनमा जलवायु परिवर्तन, सुशासन प्रबर्द्धन लगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका छ । सम्मेलन भर्चुअल भएकाले सहभागि राष्ट्रहरुले विषयवस्तुमा केन्द्रित भई लिखित र भिडियो सन्देश व्यक्त गरेका छन् ।

नेपालको संसदको तर्फबाट राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले लिखित र भिडियो सन्देशमार्फत धारणा व्यक्त गरेकाछन । सो सन्देशमा उहाँले नेपाल अहिले नयाँ संविधान निर्माण गरि दिगो विकासको लक्ष्य प्राप्तिका लागि ’समृद्ध नेपाल, सुखी नेपाली’ को नारासहित अगाडि बढिरहेको बताए । विश्वले कोरोनालाई छिट्टै पराजित गरि जनजीवन सहज बनाउन सफल हुने अपेक्षा व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधि नियमित हुने बताए । ’हाल विश्व समुदायले भोगिरहेको कोभिड १९ को यो समय र यसपछिका लागि पनि जनप्रतिनिधिहरुको उच्चतम विधायिकी अंग संसदले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो, ’आर्थिक स्थायीत्व, रोजगारी सृजना र स्वास्थ्य क्षेत्रमा सृजित समस्या समाधानका लागि नीति निर्माण तथा योजना तर्जुमा गर्नु संसद तथा सांसदहरूको कर्तव्य नै हो ।

उहाँले नागरिकको विश्वास आर्जन गर्दै स्थानीय, राष्ट्रिय, क्षेत्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समन्वय एवं सहकार्यका लागि अन्तर व्यवस्थापिका संघ जस्ता बहुपक्षीय संस्था सँग एकिकृत प्रयास र एकताका लागि संसद क्रियाशिल हुनुपर्ने बताए ।

भर्चुअल सम्मेलनको उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेज, आईपीयू अध्यक्ष ग्राब्रिएला सेभस व्यारोन, आयोजक राष्ट्र अष्ट्रियन नेशनल काउन्सिलका अध्यक्ष वोल्फग्याङ सोबोट्का र आईपीयू महासचिव मार्टिन चुङगोङले बोलेका थिए । आज बिहीबारसम्म चल्ने दुई दिने सम्मेलनको अन्तिममा साझा घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ ।