neapl investment mega bank
  • गृहपृष्ठ
  • गल्याङ नगरपालिकामा थप सिंचाईका लागि एक हप्ता भित्र डिपिआर सुरु हुने

गल्याङ नगरपालिकामा थप सिंचाईका लागि एक हप्ता भित्र डिपिआर सुरु हुने

Aug 19th, 2020

गल्याङ, भदौ ३

स्याङ्जाको गल्याङ नगरपालिकामा रहेको आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता समिति आक्वा क्षेत्रको विस्तारका लागि अन्तरक्रिया कार्यक्रम गल्याङमा सम्पन्न भएको छ । गल्याङ नगरपालिकाको आयोजनामा सिंचाई मर्मत तथा क्षेत्र विस्तारका लागि सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल भएको हो ।

गल्याङ र पाल्पा जिल्लाका विभिन्न ठाउँमा सिंचाई भइरहेको यस परियोजनाबाट गल्याङ नगरपालिकाका वडा नम्बर १ मालुङ्गा र वडा नम्बर ९ बेलचौरमा समेत सिंचाई सुविधा थप गर्ने विषयमा अन्तरक्रियामा छलफल भएको थियो । यसका लागि विस्तृत परियोजना डिपिआर निर्माण गर्ने निर्णय पनि भएको छ । कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले आक्वाको हाल सिंचाई रहेको क्षेत्रमा कुनै असर नपर्ने गरी क्षेत्र विस्तार गर्न लागिएको बताउनुभयो । उहाँले आक्वा क्षेत्रका वासिन्दाहरुले उपभोग गरिरहेको पानीलाई मात्रै नभएर सिंचाईका लागि थप पानीको विकल्प आफुसँग रहेको बताउनुभयो ।

नगरप्रमुख अधिकारीले भन्नुभयो –‘मालुङ्गा तथा बेलचौरमा ठूलो मात्रामा खेतीयोग्य जमिनले सिंचाई नपाएको अवस्था छ । डिपीआर निर्माण गरी काम सुरु गर्नुपर्ने अवस्था छ ।’ उहाँले खेतीयोग्य जमिनको सदुपयोग गर्नका लागि स्थानीय जनता नै जागरुक हुनुपर्नेमा जोड दिनुभयो ।

सिंचाई योजनाका लागि बजेट ल्याउन आफुले पहल गर्ने भन्दै उहाँले बजेटको कुनै कमी हुन नदिने गरी काम गर्ने बताउनुभयो । प्राविधिक मुल्याङ्कन गरी काम सुरु भएपछि यसलाई सम्पन्न गर्न आफुले विभिन्न निकायमा समन्वय गर्ने नगरप्रमुख अधिकारीको भनाई छ । कार्यक्रममा जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हिमलाल पौडेलले सिंचाई व्यवस्था थप गर्नका लागि नगरप्रमुखले चासो देखाएको भन्दै यसमा सहकार्य गर्न आफु तयार रहेको बताउनुभयो ।

आँधिखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था आक्वाका अध्यक्ष पदम अर्यालले आक्वा क्षेत्रमा हाल सिंचाई भइरहेको ठाउँलाई अझै व्यवस्थित गरी क्षेत्र विस्तार गर्ने कुरामा आफुहरुको सहमति रहेको बताउनुभयो । अन्तरक्रियाबाट डिपीआर निर्माणका लागि सहजिकरण गर्न बेलचौर तथा मालुङ्गाबाट प्रतिनिधित्व हुने गरी सहजिकरण समिति बनाइएको छ ।

कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, बुटवल पावर कम्पनि गल्याङ शाखाका प्रमुख डोल खरेल, गल्याङ नगरपालिका वडा नम्बर दुईका अध्यक्ष इवप्रसाद कर्माचार्य, आक्वाका कार्यसमिति तथा सदस्यहरु एवम् अन्य उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi