आधारभूमि संवाददाता
काठमाडौं, साउन ३२
सरकारले स्थापना गरेको कोरोना कोषमा विभिन्न क्षेत्र तथा संस्थाबाट धमाधम रकम संकलन भएको छ । आज मात्र सो कोषमा २० करोड ७९ लाख भन्दा बढि रकम जम्मा भएको छ ।
यसअघि कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा विभिन्न व्यक्ति तथा संस्थाहरुले साढे २ अर्ब रुपैयाँ सहयोग गरिसकेका छन् ।
विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आज सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रकम सहयोग गरेका हुन ।
बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कोषमा रकम सहयोग गरेको जनाएका छन् । आज मात्रै कोरोना कोषमा राष्ट्रिय बाणिज्य बैंक, कृषि विकास बैंक, नबिल बैंक, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले रकम जम्मा गरेका छन् ।
हालसम्म सो कोषमा ८ वटा बैंक तथा वित्तीय संस्थाहरुले सहयोग गरेका छन् । ८ वटै बैंक तथा वित्तीय संस्थाहरुले कुल २० करोड ७९ लाख ५१ हजार ९ सय १७ रुपैयाँ सहयोग गरेका हुन् ।
सो रकम उनीहरुले अर्थमन्त्री डा। युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन् ।
राष्ट्रिय वाणिज्य बैंकले २ करोड ६९ लाख ९३ हजार १ सय ४५ रुपैयाँ , कृषि विकास बैंकले ४ करोड १० लाख १० हजार, नविल बैंकले ६ करोड रुपैया र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ४६ लाख ५८ हजार रुपैयाँ कोरोना कोषमा जम्मा गरेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७ ०७८ को मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्वमा आर्थिक वर्ष २०७६र७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको थियो । सो अनुरुप बैंकले सो कोषामा सहयोग गरेका हुन् ।
८ वटा बैंक तथा वित्तीय संस्थाहरुमा सबैभन्दा बढी सहयोग नविल बैंकले गरेको छ । सो बैंकले कोरोना कोषमा ६ करोड रुपैयाँ सहयोग गरेको छ ।
बैंक तथा वित्तीय संस्थाको सहयोग विवरणः
१. नेपाल बैंक – ३ करोड ४६ लाख रुपैयाँ
२. सिद्धार्थ बैंक– २ करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ
३. प्रभु बैंक – १ करोड ३९ लाख १८ हजार २ सय ३८ रुपैयाँ
४. सनराईज बैंक – ७९ लाख ४४ हजार ४ सय ७६ रुपैयाँ
५.राष्ट्रिय वाणिज्य बैंक– २ करोड ६९ लाख ९३ हजार १ सय ४५ रुपैयाँ
६. कृषि विकास बैंक– ४ करोड १० लाख १० हजार रुपैयाँ
७. नविल बैंक – ६ करोड रुपैयाँ
८. डिप्रोक्स लघुवित वित्तीय संस्था लि– ४६ लाख, ५८ हजार १ सय २९ रुपैयाँ