आधारभूमि संवाददाता
काठमाडौँ, ३२ साउन
काठमाडौंमा थप १७२ जनामा कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उपत्यकामा १७२ जनाको पिसिआर पोजेटिभ आएको बताए ।
नयाँ संक्रमितमा काठमाडौंका १२६ ,भक्तपुरका ८ र ललितपुरका ३८ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । शनिबार काठमाडौं उपत्यकामा एकैपटक ९८ संक्रमित थपिएका थिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२ हजार २४७ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १५ हजार २४३ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ९ हजार २२१ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा पर्सा, रौतहट, महोत्तरी, मोरंग र काठमाडौँ रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा १३४ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १७ हजार ३३५ पुगेको छ । त्यस्तै कोरोनाका सङ्क्रमित शून्य रहेका जिल्लामा सङ्खुवासभा, मनाङ, मुस्ताङ , हुम्ला र डोल्पा रहेका छन् ।