आधारभूमि संवाददाता
काठमाडौँ, २९ साउन
नेपालमा कोरोना सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप चार जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।
मृत्यु हुनेमा मोरङका ५७ वर्षीय पुरुष, महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाकी ८५ वर्षीया वृद्धा र अछामका १८ वर्षीय युवा रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७३ जना पुरुष र २२ जना महिला गरि ९५ पुगेको छ ।
आज थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या २४ हजार ९५७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १०९ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १६ हजार ८ सय ३७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९ हजार ८ सय ५९ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या १४ हजार ७६९ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ८ हजार २५ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ रहेका छन् ।