आधारभूमि संवाददाता
काठमाडौँ, २८ साउन
नेपालमा कोरोना सङ्क्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप आठ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिए ।
मृत्यु हुनेमा काठमाडौंका १, धादिङका १, धनुषाका २, सप्तरीका १, मोरङका १, कपिलवस्तुका १ र बाराका १ जना रहेका छन् । यससँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९१ पुगेको छ ।
बुधवार थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमितको सङ्ख्या २४ हजार ४३२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६४ जनाले कोरोना जितेका छन् । योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या १६ हजार ७ सय २८ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४ सय ८१ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ११ हजार ५८ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ छ। पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौँ रहेका छन् ।हालसम्म ४ लाख ७२ हजार बढीको पिसिआर परीक्षण भएको छ।