आधारभूमि संवाददाता
काठमाडौं, साउन २७
सरकारले कोरोना नियन्त्रण तथा यसको रोकथामका लागि ११ अर्ब ८६ करोड रकम खर्च गरिसकेको छ । महामारी नियन्त्रणका लागि आवश्यक पर्ने खर्च जुटाउनका लागि स्थापना भएको कोषमा १७ अर्ब ८४ करोड जुटेको थियो ।
सरकार सँग यसरी जुटेको रकम अब जम्मा ५ अर्ब ९८ करोड बाँकि छ । स्थानिय तहले सञ्चालन गर्ने स्थानिय तह कोरोना नियन्त्रण ७ अर्ब ३८ करोड जम्मा भएको थियो । जसमध्ये ६ अर्ब २ करोड , निकासा तथा खर्च भएको छ । र अब बाँकी जम्मा १ अर्ब ३५ करोड छ ।
त्यस्तै प्रदेश सरकारले खर्च गर्ने प्रदेश कोरोना नियन्त्रण कोषमा जम्मा २ अर्ब ३७ करोड आम्दानी भएको थियो । जसमध्ये १ अर्ब ४९ करोड रुपैयाँ निकासा तथा खर्च भएको छ । र अब बाँकि ८७ करोड छ ।
संघिय कोरोना नियन्त्रण कोष संकलन २ अर्ब ३९ करोड निकासा भएको थियो । जुन कोषको रकम केन्द्र सरकारले खर्च गरेको छ । केन्द्र सरकारले यस्तो कोषमा जम्मा भएको रकम मध्ये १ अर्ब ३ करोड खर्च गरिसकेको छ । र १ अर्ब ३५ करोड मात्रै बचेको छ ।
यस बाहेक केन्द्र सरकार आफैले पनि कोरोना नियन्त्रणका लागि बजेट बिनियोजन गरेको थियो । अर्थात सरकारले बजेटबाट पनि कोरोना नियन्त्रण तथा रोकथामका लागि बजेट निकासा गरेको थियो । जसमा ५ अर्ब ७० करोड बिनियोजन भएकोमा ४ अर्ब ७९ करोड खर्च तथा निकासा भएको छ । अब बाँकि भने जम्मा ९० करोड मात्रैं छ ।
सरकारले खर्च गरेपनि कोरोना महामारी नियन्त्रणमा भने चुकेको छ । दैनिक १५ हजार सम्म कोरोना परिक्षण गर्न सक्ने क्षमता भएपनि अहिले दैनिक सरदर ८ हजारको दरमा मात्रै परिक्षण भएको छ ।
साथै कोरोना नियन्त्रणका लागि आवश्यक पर्ने औषधि तथा उपचारका सामाग्री समेत सरकारले खरिद गर्न चासो दिएको छैन । खरिद गर्ने भनेपनि अहिलेसम्म खरिदको प्रक्रिया नै अघि बढाइएको छैन ।
सरकारको बजेट खर्च पनि यथोचित स्थानमा हुन नसकेको देखिन्छ । लकडाउन गरेका समयमा पनि गरिबहरुले कुनै राहत पाउन सकेनन् । त्यसैले ११ अर्ब रकम कस्तो स्थानमा खर्च भयो त भनेर धेरैले हिसाब पनि मागिरहेका छन् ।