neapl investment mega bank
  • गृहपृष्ठ
  • अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बंगलादेश महामहिम राजदूतबिच भेटवार्ता

अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बंगलादेश महामहिम राजदूतबिच भेटवार्ता

Aug 7th, 2020

काठमाडौ, साउन २३

अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि बंगलादेश महामहिम राजदूत मास्फी बिन्ते साम्सबिच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ । आफ्नो ७ वर्षे कार्यकाल पुरा गरी बंगलादेश फर्कन लागेका महामहिम राजदूतले अर्थमन्त्रीसँग बिदाई भेट गरेका हुुन ।

उक्त भेटमा माननीय अर्थमन्त्रीले नेपाल र बंगलादेश बीच ५ दशक भन्दा लामो सम्बन्ध भएको उल्लेख गर्दे द्विपक्षीय व्यापार, उर्जा र लगानीका विविध आयाममा दुवै देश बीच सहकार्य भैरहेको धारणा व्यक्त गरे । उनले दुवै देश प्राकृतिक, मानव संशाधन लगायतका स्रोतबाट सम्पन्न भएकोले यसको उपयोगबाट द्रुत आर्थिक विकास गर्न सकिने विचार व्यक्त गरे ।

अर्थमन्त्रीले नेपाल र बंगलादेशले अतिकम विकसित मुलुकको मञ्च, सहस्राब्दी विकास लक्ष्य र दिगो विकास लक्ष्य निर्माणको चरणमा सहकार्य गरेको स्मरण गर्दे अन्तर्राष्ट्रिय र क्षेत्रीय सवालमा समान धारणा राख्ने राष्ट्र भएकोले सहकार्य हुनसक्ने साझा विषयमा हातेमालो गर्दै अगाडि बढ्नुपर्नेे बताए ।

उनले दुवै देशले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, श्रमिकको सुरक्षा, बसाईसराई, मानवीय सहयोग, श्रम व्यवस्थापन र शरणार्थीको व्यवस्थापन जस्ता विषयमा सहयोग र सहकार्य गर्नसक्ने अवस्था रहेको उल्लेख गरे । उनले सार्कको माध्यमबाट क्षेत्रीय सहयोग तिव्र गतिमा अघि बढाउन समान भाषा र संस्कृति भएका नेपाल, भारत, बंगलादेश र भुटान बीचको उपक्षेत्रीय इकाई महत्वपूर्ण हुन सक्ने बताए ।

अर्थमन्त्रीले बंगलादेशले आर्थिक विकासमा गरेको प्रगतिको प्रशंसा गर्दै नेपालले पनि धेरै विषयहरुलाई आत्मसाथ गरी आर्थिक विकासको गति अघि बढाईरहेको जानकारी दिए । लघुवित्त, वित्तीय साक्षरता, वित्तीय पहुँच र मोवाइल बैंकिगंको विस्तारमा नेपालले बंगलादेशबाट धेरै सिकेको उल्लेख गर्दे अर्थमन्त्रीले कोभिड– १९ ले ल्याएको चुनौति र अवसरलाई मध्यनजर गरी सहयोगका नयाँ क्षेत्रमा सहकार्य गर्न आव्हान गरे । अर्थमन्त्रीले महामहिम राजदूतको नेपालको कार्यकाल सफल रहेकोमा खुशी व्यक्त गर्र्दै आगामी दिनमा समेत सहकार्य हुने अपेक्षा सहित सफल यात्राको कामना गरे ।

उक्त भेटका अवसरमा महामहिम राजदुतले बंगलादेश नेपालसित क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चमा संगै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले दुई देशबीच व्यापार, उर्जा सहयोग, लगानी लगायतका क्षेत्रमा सहकार्य गर्न आवश्यक रहेको धारणा राख्दै सहुलियतपूर्ण र सौविध्य प्राप्त व्यापारको माध्यमबाट समृद्धिका लागि कार्य गर्न सकिने बताए । वातावरणीय संवेदनशिलता सम्बन्धी मञ्च, कोलम्बो मञ्च, सगरमाथा सम्बाद जस्ता मञ्चको उपयोग गरी द्विपक्षीय हितमा कार्य गर्न अनुरोध गर्दै महामहिमले नेपाल बंगलादेश बीचको पाँच दशक लामो साझेदारी र सहकार्यलाई थप सुदृढ गर्न सकिने धारणा व्यक्त गरे ।

महामहिम राजदूतले नेपालमा ७ बर्षको सफल कार्यकाल समापन पछि बंगलादेशको विदेश मन्त्रालयमा फर्कन लागेको र यस अवधिमा नेपालले आफ्नो कार्य सम्पादनमा पुर्याएको महत्वपूर्ण सहयोग र हार्दिकतापूर्ण समन्वयका लागि धन्यवाद दिए ।