neapl investment mega bank
  • गृहपृष्ठ
  • लकडाउनको अवधिमा १८.२ प्रतिशत तलब कटौती , होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्रमा काम गर्ने सबैभन्दा बढि मारमा

लकडाउनको अवधिमा १८.२ प्रतिशत तलब कटौती , होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्रमा काम गर्ने सबैभन्दा बढि मारमा

Aug 6th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, साउन २२

लकडाउनको अवधिमा उद्योग तथा व्यवसायीहरुले आफ्ना कर्मचारीको औसतमा १८.२ प्रतिशत तलब कटौती गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा बन्दाबन्दी अवधिमा व्यवसायीहरुले यसका साथै कामदारलाई प्रदान गर्दै आएको भत्ता तथा अन्य सुविधाहरुमा समेत उल्लेख्य रुपमा कटौती गरेको देखिएको छ ।

तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडी रहेका छन्। यस्तै, ठूला उद्योग तथा व्यवसायहरुले अन्यको तुलनामा धेरै प्रतिशत तलब कटौती गरेको देखिएको छ

साथै २२.५ प्रतिशत कर्मचारी र कामदार कटौती गरेको पाइएको छ । कटौती भएका मध्ये अस्थायी करारका कामदार दुई तिहाइभन्दा धेरै रहेका छन् ।

होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी कामदार कटौती गरेको देखिएको छ । लकडाउनको अवधिमा घरेलु उद्योग र लघु उद्यम तथा साना खुद्रा व्यापारहरुले अन्यको तुलनामा धेरै कर्मचारी÷कामदार कटौती गरेको पाइएको छ ।

बन्दाबन्दी अवधिमा ४ प्रतिशत उद्योगव्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको, ३५ प्रतिशत उद्योगतथा व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको र ६१ प्रतिशत उद्योग तथा व्यवसायहरु पूर्णरुपमा बन्द रहेको पाइएको छ ।

यसरी अधिकांश उद्योग तथा व्यवसायहरु पूर्णरुपमा बन्द रहनुले बन्दाबन्दीले अर्थतन्त्रमा गहिरो असर पारेको देखिन्छ ।

लकडाउनको अवधिमा सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन कारोबार घटेको देखिएको छ । साथै बन्दाबन्दी रहिरहे उद्योग तथा व्यवसायहरुले आफ्नो उद्योगतथा व्यवसायलाई लामो समय निरन्तरता दिन नसक्ने देखिएको छ । अर्कोतर्फ, व्यवसायहरुलाई लकडाउन पश्चात्सामान्य अवस्थामा फर्कन औसतमा करिब ९ महिना लाग्ने समेत अध्ययनमा देखिएकोछ ।

शिक्षा, होटल तथा रेष्टुरेन्ट, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलापहरु र यातायात तथा भण्डारण क्षेत्रमा अधिक असर परेको देखिएको छ । बन्दाबन्दी अवधिमा ठूला र मझौैला उद्योग तथा व्यवसायको तुलनामा घरेलु उद्योग, लघु उद्यम तथा साना खुद्रा व्यापार र साना उद्योग तथा व्यवसायहरु बढी प्रभावित भएको समेत देखिएको छ ।

अधिकांश व्यवसायीहरुले बन्दाबन्दीपश्चात् अहिलेकै व्यवसायलाई निरन्तरता दिने देखिएको भएतापनि केहीले व्यवसाय बिक्री वा बन्द गर्न चाहेको समेत देखिएको छ । बन्द गर्न चाहनेमा केही घरेलु उद्योग, लघु उद्यम तथा साना खुद्रा व्यापार र साना उद्योगतथा व्यवसायहरु रहेका छन्।

लकडाउनको अवधिमा उद्योग/व्यवसायहरुलाई सञ्चालन खर्च व्यहोर्न चालु पूँजीको अभाव, उत्पादनको बिक्री वितरणमा कठिनाइ र बजारमा मागको कमी लगायतका समस्याहरु रहेको देखिएको छ ।

बन्दाबन्दीपश्चात् वित्तीय साधन परिचालनका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने, कर्मचारी तलब कटौती गरी खर्च घटाउने, सहकारी संस्थाबाट ऋण लिने र नयाँ लगानी साझेदार खोज्ने जस्ता सोचमा व्यवसायीहरु रहेको पाइएको छ।

अधिकांश उद्योगतथा व्यवसायहरुले नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा व्यवस्था गरे अनुसार ५ प्रतिशत ब्याजदरमा कर्जा प्राप्त भएमा कर्मचारी/कामदारको रोजगारीलाई पूर्ण रुपमा निरन्तरता दिन सक्ने देखिएको छ ।