काठमाडौं, श्रावण २१
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले संभव सबै उपाय प्रयोग गरिने बताउनुभएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अधिकारी, विज्ञ, अभियन्ता र स्थानीयहरुबीच आज भएको अन्तर्क्रियामा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रानीपोखरीमा आकाशे पानीलाई पहिलो प्राथमिकता दिइएको बताउनु भयो ।
रानीपोखरीको पिंध र वरिपरिको पर्खाल पुनर्निर्माण सम्पन्न भएपछि आकाशे पानी जम्मा हुन थालेको छ । दरबार हाइस्कूल, त्रिचन्द्र कलेज लगायतका क्षेत्रबाट पानी हार्भेष्टिङका लागि काम जारी छ ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विकल्पका रुपमा मात्र टुँडिखेल क्षेत्रमा रहेका इनारको पानी, डिप बोरिङ र मेलम्चीको पानी रहेको जानकारी गराउनुभयो ।
अन्तर्क्रियामा पूर्वसचिव एवं जलस्रोत विज्ञ सुमन शर्माले रानीपोखरी वरिपरिका विभिन्न सार्वजनिक भवनको छतको पानी संकलनलाई प्राथमिकता दिँदै विकल्पमा मेलम्चीको पानी पनि राख्न सुझाव दिनुभयो । उहाँले डिप बोरिङको पानीलाई अन्तिम विकल्पका रुपमा राख्न सकिने बताउनुभयो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडका आयोजना निर्देशक भोजविक्रम थापाले उपत्यकामा पानी वितरण गर्ने पाइप प्रणालीको परीक्षण गर्नेक्रममा मेलम्चीको पानी प्रयोग गर्न सकिने बताउनुभयो ।
सम्पदाविद् सुदर्शनराज तिवारीले आकाशे तथा रानीपोखरी वरिपरिको सतह तथा खेर गएको पानी प्रशोधन गरी पानी प्रयोग गर्न सुझाव दिनुभयो । उहाँले डिप ट्युवेलहरु प्रयोग नगर्न सुझाव दिनुभयो ।
संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले परम्परागत इञ्जिनियरिङलाई अवलम्बन गर्न आग्रह गर्दै डिप बोरिङको सट्टा प्राकृतिक उपायहरु अपनाउँदै पानी भर्न आग्रह गर्नुभयो । यस्तै सुशील श्रेष्ठले पोखरी सफा गर्न दुईवटा निकास राख्न सुझाव दिनुभयो ।
स्थानीय गणपतिलाल श्रेष्ठले केही समय लागे पनि सम्भव भएसम्मका परम्परागत विधिहरू व्युँताउने उपायतिर लाग्न आग्रह गर्नु भएको थियो ।