काठमाडौ, साउन २१
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले अयोध्यामा राम मन्दिर निर्माण हुने विषयले हिन्दु धर्ममा आस्था राख्ने सबैलाई प्रफुल्लित तुल्याएको बताएका छन् ।
‘अयोध्यामा राम मन्दिर निर्माण हुन लागेको शुभ अवसरमा हामी समस्त हिन्दु धर्मावलम्बीहरू सहर्ष गौरवान्वित भएका छौं,’ अध्यक्ष राणाले मंगलबार ट्वीट गर्दै भने । भारतको अयोध्यामा बुधबार राम मन्दिरको शिलन्यास गरिने कार्यक्रम तय गरिएको छ ।
अर्को एक प्रसंगमा राप्रपाका अध्यक्ष राणाले सिन्धुपाल्चोकमा पहिरोमा परेर ज्यान गुमाएका, घाइते भएका व्यक्तिहरूका पिडित परिवारलाई नेपाल सरकारले तत्काल राहत उपलब्ध गराउनु पर्ने माग गरेका छन् । ‘अविरल वर्षाका कारण पहिरोमा परेर पाँचपोखरी गाउँपालिका, बरुवामा दुई जनाको मृत्यु भएको खबरले दुखित छु,’ उनले भने ।
‘मृतआत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु । घाइतेको स्वास्थ्यलाभको कामना गर्दै पिडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु,’ राणाले भने ।