आधारभूमि संवाददाता
काठमाडौं, साउन २१
अहिले ९ वटा बाणिज्य बैंकमा एकै घर तथा ब्यापरिक समुहको लगानी रहेको पाइन्छ । यसरी एकै समुहका बैंकहरुलाई भने राष्ट्र बैंकले मर्जरमा लान खोजेको छ।
खेतान ग्रुपको अहिले हिमालयन बैंक र लक्ष्मी बैंकमा लगानी छ । खेतान ग्रुपको म्युच्युल ट्रेडिङ कम्पनीको हिमालय बैंकमा ११ दशमलव ७५ प्रतिशत संस्थापक सेयर लगानी छ ।
त्यस्तै खेतान ग्रुपकै प्रमुख राजेन्द्र खेतानको लक्ष्मी बैंकमा ४२ लाख कित्ता र उनको श्रीमति सारिका खेतानको ८१ लाख २८ हजार ७ सय ६३ कित्ता संस्थापक सेयर छ । त्यस्तै हिमालयन बैंकमा समेत लगानी रहेका पृथ्बी बहादुर पाण्डे नेपाल इन्भेष्टमेन्ट बैंकमा अध्यक्ष नै रहेका छन् । यसरी हेर्दा हिमालयन, इनभेष्टमेन्ट र लक्ष्मी बैंक गाभिनु पर्ने हुन्छ । यि तिनवटै बैंक गाभिने हो भने त ३३ अर्ब पुँजी भएको बाणिज्य बैंक बन्नेछ ।
एनआइसि एसिया बैंक र एनएमबी बैंक दुबैमा बिशाल ग्रुपको लगानी छ । एनआइसि एसियामा बिशाल ग्रुपका अध्यक्ष जगदिश प्रसाद अग्रवालको ४ लाख ९९ हजार कित्ता संस्थापक सेयर लगानी रहेको छ ।
त्यस्तै बिशाल ग्रुपकै प्रवन्ध निर्देशक अशोक कुमार अग्रवालको एनएमबी बैंकमा ४ लाख ८२ हजार ३ सय ५७ कित्ता संस्थापक सेयर लगानी छ । संघाइहरुको त्रिबेणी ग्रुपका अध्यक्ष पुरुषोत्तमलाल संघाईको एनएमबी बैंकमा ८ लाख ६२ हजार ९ सय ९५ कित्ता संस्थापक सेयर लगानी छ । र यहि समुहका निर्देशक रामचन्द्र संघाईको २८ लाख ४० हजार १ सय २३ सस्थापक सेयर छ भने १० लाख ५८ हजार ८३ कित्ता सर्वसाधारण सेयर छ ।
त्यस्तै एनबी ग्रुपको एनसीसी बैंकमा ३ दशमलव ७५ प्रतिशत हिस्सा छ । र यही ग्रुपका प्रमुख जितबहादुर श्रेष्ठको नेपाल बंगलादेश बैंकमा दुई दशमलव ६१ प्रतिशत हिस्सा र सोहि ग्रुपका लक्ष्मी बहादुर श्रेष्ठको शुन्य दशलमव ६३ प्रतिशत हिस्सा छ ।
सिभिल बैंक र सिटिजन्स बैंकमा प्रताप जंग पाण्डेको लगानी छ। यसरी एकै समुहका प्रवर्धकहरुको बैंक मर्जर गर्दा सञ्चालन खर्चमा कमि हुने बैंकर बताउँछन् ।
गत वर्ष सम्म एकै परिवार तथा व्यवसायीक समुहले सञ्चालन गरेको बैंक तथा वित्त संस्थालाई मर्जरमा जान प्रोत्साहन गर्दै आएको राष्ट्र बैंकले गत सोमबार एक परिपत्र जारी गर्दै अब यस्ता बैंक तथा वित्त सस्थालाई मर्जरमा जान निर्देशन दिने बताएको छ । विभिन्न बैंकहरुमा लगानी गरेका यस्ता प्रवर्धकहरुले बैंकको कर्जा स्वीकृतिमा प्रभाव पार्ने गरेकाले राष्ट्र बैंकले मर्जरमा लान लागेको हो ।