neapl investment mega bank
  • गृहपृष्ठ
  • सगूनले धितोपत्र बोर्डलाई लेख्यो पत्र, नेपालबाट लगानी जुटाउने कुनै मनसाय नरहेको खुलासा (पत्र सहित)

सगूनले धितोपत्र बोर्डलाई लेख्यो पत्र, नेपालबाट लगानी जुटाउने कुनै मनसाय नरहेको खुलासा (पत्र सहित)

Aug 3rd, 2020

काठमाडौ, साउन १९

सामाजिक संजालमा आधारित इ कमर्स कम्पनी, सगून, ले धितोपत्र बोर्डलाई एक पत्र लेखी नेपालबाट लगानी जुटाउने आफ्नो कम्पनीको कुनै मनसाय नरहेको खुलासा गरेको छ ।

धितोपत्र बोर्डले हालै एक सार्वजनिक सूचना प्रकाशित गरी “विदेशमा दर्ता भएको सगून इन्कोर्पोरेशन जस्ता कम्पनीले नेपाली लगानीकर्ताहरुलाई लक्षित गरी धितोपत्रको सार्वजनिक निस्काशन जारी गरेको“ भन्ने भनाइमा कुनै सत्यता नरहेको पनि उसले जनाएको छ ।

सगून नेपाल प्रालिद्वारा बोर्डलाई पठाइएको पत्रमा “नेपालको कानून अनुसार नेपालको धितोपत्र बजारबाट रकम जुटाएर विदेशमा लगेर लगानी गर्न प्रतिबन्ध लगाइएकाले सगूनले नेपालमा लगानीकर्ताहरुबाट रकम उठाउन चाहेको भन्ने भनाइ सरासर गलत छ । हाम्रो अहिले वा निकट भविष्यमा पनि त्यस्तो कुनै योजना छैन,“ उल्लेख गरिएको छ ।

त्यसैले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा २७.१ तथा २९.१ आफ्नो कम्पनीको हकमा आकर्षित नहुने पनि सगूनले स्पष्ट पारेको छ । “संयुक्त राज्य अमेरिका, भारत तथा नेपालमा सम्बन्धित मुलुकका कानूनहरुको पूर्ण परिपालना गरी संचालनमा रहेको यो कम्पनीले नेपालको कानून उल्लङ्घन गर्ने भन्ने प्रश्नै आउँदैन । नेपालको धितोपत्र बजारबाट रकम जुटाएर विदेशमा लगानी गर्ने यस कम्पनीको कुनै मनसाय नरहेकोले नेपाल धितोपत्र बोर्डमा दर्ता नगरेको हो । त्यसैले धितोपत्र बोर्डमा दर्ता नभएको कम्पनीलाई लगानीकर्ताहरुलाई आकर्षित गर्न खोजेको आरोप लगाउनु तथा त्यो उद्देश्यले कुनै पनि सूचना तथा विज्ञापन प्रकाशनरप्रसारण नगर्नर नगराउन त्यस कार्यालयबाट जारी सूचना असान्दर्भिक रहेको समेत अनुरोध गर्न चाहन्छौं,“ कम्पनीले भनेको छ ।

“काठमाडौँमा हाम्रो आफ्नै कार्यालय रहेको तथा यस कम्पनीको गतिविधिबारे केहि बुझ्न आवश्यक भए हामीलाइ लिखित वा फोनबाट सम्पर्क गर्न सकिनेमा सार्वजनिक रुपमा सूचना प्रकाशित गर्ने कामले हाम्रा विदेशमा रहेका लगानीकर्ता तथा शुभचिन्तकहरुमा भ्रम उत्पन्न भएको छ । उक्त सूचनाले हाम्रो कम्पनीको सार्वजनिक छविमा पनि नराम्रो असर पर्न सक्ने हामीले ठानेका छौं । त्यसैले सार्वजनिक रुपमै उक्त सूचनालाई सच्याई दिन पनि हामीले धितोपत्र बोर्ड लाई अनुरोध गरेका छौं,“ संयुक्त राज्य अमेरिकास्थित सगून इन्कर्पोरेशनका एकजना संस्थापक कबिन सिटौलाले भने। उनले सत्य, तथ्य बुझेर मात्रै समाचार सम्प्रेषण गर्न मिडियाका सबै मित्रहरुलाई आग्रह पनि गरेका छन् ।

ग्लोबल ब्राण्ड स्थापना गर्ने प्रवासी नेपालीहरुमध्ये सगून पहिलो सुरुवातकर्ता हो । सगूनले नयाँ गोरेटो कोर्दै नेपाली नयाँ पुस्ताहरुलाई प्रेरणा दिन चाहन्छ । हाम्रो सफलताले नवीनतम सोच र काममार्फत विश्वसँग प्रतिस्पर्धा गर्न नेपाली नयाँ पुस्तालाई आत्मविश्वास जगाउन सक्छ भन्ने हाम्रो विश्वास रहेको छ,“ उक्त कम्पनीले भनेको छ । ।“हामी सबैलाई थाहा भएकै कुरा हो कि नेपालमा १ करोड ५० लाख भन्दा बढी व्यक्तिहरु विभिन्न सामाजिक सञ्जालहरु प्रयोग गर्दछन् । नेपालका यति धेरै प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जालहरुमा राखिएको विज्ञापनबाट अन्तर्राष्ट्रिय सामाजिक सञ्जालहरुले बार्षिक करिव २२ अरब रुपैयाँ नेपालबाट कमाउँछन् । त्यो रकम नेपालमा नै रहोस् भन्ने चाहना र कोसिस सगूनको रहेको छ, रहिरहने छ,” कम्पनीले भनेको छ ।

सगूनले धितोपत्र बोर्डलाई पठाएको पत्र जस्ताको तस्तैः